सिलगढी: डीआरआई सिलगढी युनिटले ७ करोड रुपियाँभन्दा अधिक मूल्यको सुनको बिस्कुट सहित २ जनालाई पक्राउ गरेको छ। पक्रा परेका तस्करहरूको नाम मनजीत (३३) र अङ्कित (२४ ) बताइएको छ। तिनीहरू दुवैजना हरियाणा निवासी हुन्। सूत्रले दिएको जानकारी अनुसार फुलबारी-घोषपुकुर बाइपास भएर भएर बिहार हुँदै दिल्लीको गुडगाउँमा विदेशी सुनको तस्करी हुने गोप्य सूचना पाउनसाथ डीआरआई सिलगढी युनिटले गत साँझ फुलबारी-घोषपुकुर बाईपासमा वाहनहरूको छानबीन शुरू गरे। यसै समय संदिग्ध चारचक्के वाहन फुलबारी-घोषपुकुर बाइपास पुगेपछि डीआरआई टीमले वाहनलाई रोक्ने प्रयास गर्दा वाहन तीव्र गतिमा त्यहाँबाट भागेको बताइएको छ। यसपछि डीआरआई टीमले दिल्ली युनिटलाई यसबारे जानकारी गरेपछि उक्त वाहनको पछि गर्दै बिहारको अररियाबाट उक्त वाहनलाई रोकेर वाहनमा बनाइएको विशेष चेम्बरबाट ७० पीस सुनको बिस्कुट उद्धार गरेको छ। उद्धार गरेको सुनको बिस्कुटको ओजन ११ किलो ६२० ग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य ७ करोड ५४ लाख १३ हजार ८०० रुपियाँ तोकेको छ। उक्त सुनको वैध कागजपत्र देखाउन नसकेपछि डीआरआई टीमले मनजीत र अङ्कितलाई सुन तस्करी गरेको आरोपमा पक्राउ गरेको छ। पक्रा परेका २ जना तस्करलाई आज सिलगढी अदालतमा पेश गरेपछि न्यायाधीशले १४ दिनको न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ। डीआरआई टीमले घटनाको जाँच शुरू गरेको छ।









