गान्तोक: युवा भरोसा सम्मेलन-२ आगामी ९ मार्चका दिन राज्यका प्रत्येक निर्वाचन क्षेत्रको खण्ड प्रशासनिक केन्द्र (बीएसी) मा सम्पन्न गरिने छ। यस कारण लाभार्थीहरूले उक्त दिन बीएसीबाट आ-आफ्नो नियुक्ति आदेश प्राप्त गर्न सक्नेछन्।
उक्त जानकारी एसकेएम प्रवक्ता युगेन तामाङले आज राजधानीस्थित पार्टी मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा दिए।
मुख्यमन्त्री प्रेमसिंह तामाङले युवा भरोसा सम्मेलनको दोस्रो संस्करण ७ मार्चका दिन आयोजना गर्ने घोषणा गरेको थियो। तर, कतिपय प्राविधिक समस्याहरूलाई ध्यानमा राख्दै उक्त सम्मेलन ७ मार्चको सट्टामा ९ मार्चमा प्रत्येक बीएसीमा गरिने उनले जानकारी गराए। प्रवक्ता तामाङले नियुक्तिको निम्ति जसलाई फोन आएको अथवा फोन नआएकाहरूले पनि बीएसीमा गएर सोधपुछ गर्न सक्ने छन् भनी बताए।
यसैगरी, मुख्यमन्त्रीका प्रेस सचिव बिकास बस्नेतले आगामी १० र ११ मार्चका दिन एसकेएम पार्टीले राज्यव्यापी रूपमा जन भरोसा सम्पर्क यात्रा आयोजना गर्ने जानकारी गराए। उनले दिन राज्यव्यापी रूपमा वाहन ऱ्याली आयोजना गरिने र यसमा सहभागी बन्न इच्छुक व्यक्तिहरूले जिल्लास्तरीय समितिमा सम्पर्क गर्न अपील गरेका छन्। पत्रकार सम्मेलनमा कार्यक्रम सम्बन्धित पोस्टर पनि सार्वजनिक गरियो।