गान्तोक: वरिष्ठ नेता केएन राई हमलाकाण्डको कथित मास्टरमाइन्ड पक्राउ नगरेको खण्ड़मा नागरिक अवज्ञा आन्दोलन गर्ने चेताउनीलाई लिएर सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले एसडीएफ पार्टी र पार्टी अध्यक्ष पवन चामलिङलाई केही ठाड़ो प्रश्न गरेका छन्।
आज राजधानीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सोधे, “एसडीएफ पार्टी र पवन चामलिङले कुन आधारामा नागरिक अवज्ञा आन्दोलन गर्ने चेताउनी दिएका हुन्? अहिले राज्यमा नागरिक अवज्ञा आन्दोलन गर्ने स्थिति कहाँ सिर्जना भएको छ ? आज राज्यमा विकासका कामहरू भइरहेको छ, युवाहरूले रोजगार पाइरहेका छन्। के यसको विरोधमा उनीहरूले नागरिक अवज्ञा आन्दोलन गर्ने हुन्? के चामलिङ र एसडीएफ-ले संविधानको धारा ३७१एफ-को विरोधमा नागरिक अवज्ञा आन्दोलन गर्छु भनेका हुन् ?”
खालिङका अनुसार, जुन स्थितिमा नागरिक अवज्ञा आन्दोलन गरिन्छ त्यस्तो स्थिति अहिले राज्यमा पटक्कै छैन। उल्टा एसडीएफ सरकारकालमा वर्ष २०१० मा राज्यसभामा कथित रुपमा कालो बील ल्याउँदा सिक्किमवासीले स्वतः नागरिक अवज्ञा आन्दोलन गरेको गरेको उनले बताए। अहिले एसडीएफ पार्टीले जुन नागरिक अवज्ञा आन्दोलनको कुरा गर्दैछ त्यो सिक्किम मात्र नभएर देशकैलागि पनि खतरा रहेको उनको भनाइ रहेको छ।
उल्लेखनीय छ, हिजो एसडीएफ अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङको अगुवाइमा एसडीएफ पार्टीको शीर्ष प्रतिनिधि मण्डलले राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई राजभवनमा भेटेर बुझाएको ज्ञापन पत्रमा केएन राई हमलाकाण्डका मास्टरमाइन्ड पक्राउ नगरिएको खण्डमा नागरिक अवज्ञा आन्दोलन गर्ने बताइएको छ।
जेकब खालिङले आज फेरि एकपल्ट आफू केएन राई हमलाकाण्डमा पटक्कै संलग्न नरेको ठोकुवा गरेका छन्। एसडीएफ पार्टीले केएन राई हमलाकाण्डको पछि खालिङको हात रहेको आरोप लगाउँदै आएको छ भने हिजो राज्यपाललाई बुझाइएको ज्ञापनपत्रमा पनि उनको नाम उल्लेख गरिएको छ। हिजो नै उत्तर सिक्किमको जङ्गुमा एउटा जनसभालाई सम्बोधन गर्ने क्रममा उनले यस आरोपको खण्डन गरेका थिए भने आज फेरि एकपल्ट आफूमाथि लागेको आरोपको ठाड़ो खण्डन गरेका छन्।
“केएन राईमाथि भएको हमलाकाण्डमा मेरो संलग्नताको कुनै प्रमाण छ भने एसडीएफ पार्टीले झट्टै मिडियामा प्रस्तुत गरोस नत्र पुलिस र न्यायालयमा पेश गरियोस्। तर, यस्तो गम्भीर विषयमा सस्तो राजनीति नगरियोस्। यदि प्रमाण दिन सक्दैन भने कानुनी कार्यवाहीको निम्ति तयार होस”, उनले भने।









