गान्तोक: पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले सिक्किमका एक वरिष्ठ राजनीतिज्ञ बिराज अधिकारीको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्।
एसडीएफ अध्यक्ष चामलिङले आज जारी एक प्रेस विज्ञप्तिमा भनेका छन्, बिराज अधिकारीको आज बिहान ५ः३४ बजी मणिपाल सेण्ट्रल रेफरल अस्पतालमा निधन भएको खबरले मलाई अत्यन्त दुःख लागेको छ।
उनी धेरै वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए। आज अन्तिम सास लिँदा उहाँ ६३ वर्षको हुनुहुन्थ्यो। स्व. बिराज अधिकारी एक पुरानो साथी र सहयोद्धा थिए जससँग हामीले १९९३-१९९४ को आन्दोलनमा सँगै लडेका थियौं। राजनीतिक उथलपुथलको यो चुनौतीपूर्ण घडीमा हामीले सँगै सङ्घर्ष गरेका थियौँ।
स्व. बिराजले एसडीएफ सरकार गठनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउॅंदै यस प्रक्रियामा उनलाई प्रहरी हिरासतमा राखिएको थियो जहाँ उनीलाई कठोर शारीरिक यातना दिइएको पनि उनले उल्लेख गरेका छन्। चामलिङले उहॉं आज सशरीर नरहे तापनि सिक्किम र एसडीएफ पार्टीका एक उच्च नेताका रुपमा उहाँलाई सधैं सम्झिनेछ र पार्टीमा उहाँको योगदान सधैं स्मरणीय रहनेछ भनी बताएका छन्।
चामलिङले भनेका छन्, आज मैले एक पुरानो साथी गुमाएको छु, जो कहिलेकाहीँ एक विरोधी थिए। तर, मैले हाम्रो साझा इतिहास र संघर्षको माध्यमबाट उनीसॅंग जोडिएको महसुस गरेको थिए। सिक्किमले आज आफ्नो एक कट्टर अधिवक्ता गुमाएको छ। उनले पार्टीको तर्फबाट स्वर्गीय बिराज अधिकारीकी आमा रुक्मिणी शर्मा, छोरी नम्रता, उहाँको परिवार र आफन्तजनमा यस अपार क्षतिको लागि हार्दिक समवेदना प्रकट गरेका छन्।









