गान्तोक: सिक्किमका एक वरिष्ठ राजनीतिज्ञ विराज अधिकारीको निधनमा एसडीएफ पार्टीले बाइपास्थित पार्टी मुख्यालयमा आज शोक सभा आयोजित गर्दै शोक समवेदना अर्पण गऱ्यो। पार्टी अध्यक्ष पवन चामलिङको अध्यक्षतामा आयोजित उक्त शोक सभामा एसडीएफ पार्टीका नेता, नेतृ तथा विभिन्न जनसङ्गठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
शोक सभामा वरिष्ठ नेता विराज अधिकारीले सिक्किमेली राजनीतिमा पुऱ्याएको योगदानको सम्झना गर्दै उहाँको पुण्यात्माले मोक्ष प्राप्त गरुन् भनी एसडीएफ परिवारले दुई मिनटको मौन धारण गऱ्यो। उक्त जानकारी एसडीएफले आज जारी एक प्रेस विज्ञप्तिमा दिएको छ।
शोक सभामा आफ्नो मन्तव्य प्रकट गर्दै एसडीएफ अध्यक्ष पवन चामलिङले स्वर्गीय विराज अधिकारी एकजना सिक्किमेली जनताका अधिकार र हकप्रति समर्पित नेता थिए भनी बताए। उनले स्व. अधिकारी सिक्किमका पुराना कानुन र संविधानप्रदत्त अधिकार सुरक्षित रहनुपर्छ भन्ने विचारले एसडीएफ पार्टीसित जोडिएको जानकारी गराए।
एसडीएफ पार्टीमा जोडिएपछि विराज अधिकारीले सङ्घर्षका दिनहरूमा साथ दिएको अनि उहाँ एसडीएफ पार्टीको उपाध्यक्ष पदमा पदासिन बनेको तथा रिनाक क्षेत्रबाट उहाँलाई पार्टीले विधायक टिकट प्रदान गरेको चामलिङले अवगत गराए। उनले भने, विराज अधिकारी सिक्किमेली जनताको हक, अधिकार र पहिचानको डटेर वाकलत गर्ने सिक्किमवादी नेता हुनुहुन्थ्यो।
उनले स्व. अधिकारीका शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दै यस दुःखद घडीमा एसडीएफ पार्टी उहाँहरूको साथमा रहेको बताए। उनले मृतकका आत्माले चिर शान्ति प्राप्त गरी बैकुण्ठमा वास पावोस् भन्ने कामना गरे।
शोक सभामा एसडीएफ पार्टीका मुख्य प्रवक्ता एमके सुब्बा, उपाध्यक्षद्वय एमएन दाहाल र अम्बर राईले पनि स्वर्गीय विराज अधिकारीको सम्झनामा आफ्ना मन्तव्य राखेका थिए।