धर्मशाला: कुलदीप यादवको अगुवाईमा स्पिनरहरूका विध्वंशी बलिंगपछि ओपनर यशस्वी जयसवाल र कप्तान रोहित शर्माबीच शतकीय पार्टनरशीपको सहायताले भारतले पाँचौं क्रिकेट टेस्ट म्याचको पहिलो दिन नै ईंग्ल्याण्डलाई चेपारोमा पाऱ्यो। बिहीवार यहाँको एचपीसीए स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्ने ईंग्ल्याण्डको पहिलो ईनिंग्स केवल २१८ रनमा समाप्त भयो। त्यसपछि भारतले पहिलो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा १ विकेट गुमाएर १३५ रन बनायो। कप्तान रोहित शर्मा ५२ र शुभमन गिल २६ रनमा अविजित छन्। यसरी भारत अहिले पहिलो ईनिंग्सको आधारमा केवल ८३ रन पछि रहेको छ। भारतले आज एकमात्र विकेटको रूपमा फर्ममा रहने जयसवाललाई गुमायो, जसले ५८ बल खेलेर ५ वटा चौका र ३ वटा छक्काको साथ ५७ रन बनाए। उनले कप्तानसँग मिलेर पहिलो विकेटको निम्ति २०.४ ओभरमा १०४ रनको पार्टनरशीप गरे। जयसवाल आक्रामक शट् खेल्ने प्रयासमा शोएब बशीरको शिकार बने। त्यसपछि रोहितले गिलसँग मिलेर दिनको अन्तसम्म संघर्ष जारी राखे।

यसअघि ईंग्ल्याण्डको पहिलो ईनिंग्समा शुरुवात असल भए पनि भारतीय स्पिनरहरू आक्रमणमा आएपछि टीमले लगातार विकेट गुमायो। विशेषगरी कुलदीप यादव र रविचन्द्रन अश्विनले मिलेर विपक्षी टीमको ब्याटिंग क्रमलाई तहसनहस पारे। यसरी एक समय २ विकेटमा १३७ रन बनाएर खेलिरहेको ईंग्ल्याण्डको टीम केही बेरमै ८ विकेटमा १८३ रनको स्कोरमा पुग्यो। आज ज्याक क्राउली र बेन डकेटले मिलेर पहिलो विकेटको निम्ति ६४ रनको पार्टनरशीप गरे। यसमा क्राउलीले १०८ बल खेलेर ११ वटा चौका र एउटा छक्काको साथ सर्वाधिक ७९ रन बनाए। उनलाई छोड़ेर अन्य कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्।

जनी बेयरस्टोले २९, डकेटले २७, जो रुटले २६ र बेन फोक्सले २४ रन बनाए। भारतीय बलरहरूमा कुलदीपले सर्वाधिक ५ विकेट लिए। यसबाहेक आफ्नो १००औं टेस्ट म्याच खेलिरहेका अश्विनले ४ र रविन्द्र जडेजाले १ विकेट लिए। यसरी आज विपक्षी टीमको जम्मै विकेट स्पिनरहरूले हासिल गरे।









