बाग्राकोट उच्चतर माध्यमिक विद्यालयमा वाणिज्यको पठनपाठन शुरु

IMG-20220801-WA0149.jpg

बाग्राकोट: बाग्राकोट उच्चतर माध्यमिक विद्यालय (बाउमावि)-मा आजदेखि वाणिज्य विभागको पढ़ाइ शुरु भएको छ। केही महिनाअघि कोलकाताबाट कमर्समा यसै शैक्षिक सत्रदेखि पठनपाठनको अनुमति प्राप्त भएपछि विद्यालयले भर्ना शुरु गरेको थियो। भर्नाको प्रक्रिया पूरा भएपछि आजदेखि विधिवत रूपमा त्यसको उद्घाटन भएर श्रेणीहरू सञ्चालनमा आएका छन्। विद्यालयले यसको निम्ति दुईजना स्वयंसेवी शिक्षक र शिक्षिका नियुक्त गरेको छ। बाउमावि-का प्रधानअध्यापक सागर शर्माले आज विद्यार्थी र शिक्षकहरूबिच रिबन काटेर कमर्स स्ट्रीमको औपचारिक उद्घाटन गरे। यस अवसरमा एउटा संक्षिप्त कार्यक्रम राखिएको थियो, जसलाई शिक्षक समीर मुखियाले सञ्चालन गरेका थिए।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका सह-प्रधानअध्यापक अमित थापाले यो उपलब्धि विद्यालयको मात्र नभएर यस क्षेत्रका खटिखाने अभिभावक, श्रमिकवर्ग र गरीब परिवारका विद्यार्थीहरूको पनि रहेको बताए। कला बाहेक वाणिज्यमा पनि उच्चतर माध्यमिक तहको शिक्षा घरमै बसेर पढ़्न पाउने अवसरलाई विद्यार्थीहरूले भरपुर सदुपयोग गर्नुपर्ने उनले आह्वान गरे। आफ्नो सम्बोधनमा प्रधानअध्यापक सागर शर्माले यो उपलब्धि विद्यालय सँगसँगै यस क्षेत्रकै ऐतिहासिक उपलब्धि भएको जिकिर गरे। शिक्षक-शिक्षिकाहरूले सक्दो प्रयास गरेर विद्यालयलाई प्रगतिको पथमा डोऱ्याउने कोशिश गरिरहेको बताउँदै उनले १९९९ सालमा पहिलोपल्ट आर्ट्स शुरु गरेर २००४ मा मान्यता पाएको अनि २३ वर्षपछि कमर्स स्ट्रीम शुरु भएको जानकारी दिए। कमर्स पढ़्ने विद्यार्थीहरूलाई जब सिकर्स नभएर जब गिभर्स हुने लक्ष्य लिएर पढ़्न उनले आह्वान गरे। स्वालम्बी र आत्मनिर्भर बन्ने शिक्षा लिनुपर्ने कुरामा उनको विशेष जोड़ थियो। विद्यालयमा भनेजस्तो पूर्वाधार नभएकोले पठनपाठनमा आइपरेको कठिनाइबारे अवगत गराउँदै शिक्षकहरूले आफ्नो वेतनबाट रुपियाँ दिएर स्मार्ट क्लासको निर्माण गरेको, देउसी-भैलो खेलेर स्कूलमा लाइब्रेरी बनाएको सन्दर्भ झिक्दै उनले त्यसलाई उदाहरणीय योगदान बताए। गुणस्तरीय शिक्षाका लागि शिक्षक-शिक्षिकाको योगदानसँगै सामाजिक परिवेश, पूर्वाधार र विश्वसनीयता जस्ता पक्षहरू पनि सबल हुनुपर्ने उनको भनाइ थियो।
पछि एउटा विशेष भेटमा प्रधानअध्यापक सागर शर्माले भने, विद्यालयले गुणस्तरीय शिक्षा र पूर्वाधारको विकासमा निरन्तर प्रयास गर्दै आएको छ। कोरोनाकालमा जीटीए क्षेत्रमै सबैभन्दा सक्रिय भएर अनि गाउँ-गाउँ गएर विद्यार्थी र अभिभावकहरूसँग सम्पर्क गरेर विद्यालयले अनलाइन क्लास सञ्चालन गरेको थियो, जो जगजाहेर छ। कमजोर पूर्वाधारमा पनि राम्रो शिक्षा दिने हामीले प्रयास गरिरहेका छौं। तर एउटा समूहले विद्यालयको प्रयास, परिवेश र इतिहासलाई धूमिल बनाउने चेष्टा गरिरहेको छ। सत्य-तथ्य नबुझी सामाजिक सञ्जालमा होहल्ला मच्चाएर विद्यालयलाई बदनाम गराउने जुन षडयन्त्र भइरहेको छ, म त्यसको घोर भर्त्सना गर्दछु। उनले अझ भने, ती समूह को हो? उनीहरूको कस्तो राजनीतिक उद्देश्य छ? उनीहरू शिक्षा व्यवस्थामा सुधार चाहन्छन् कि आफ्नो स्वार्थ पूरा गर्न चाहन्छन्? यसको पनि हाम्रा अभिभावक, शुभचिन्तक तथा हितधारकहरूले खोज गर्नुपर्छ। एकपक्षीय कुतर्क, झूटो दस्तावेज र होहल्ला गरेर स्कूलको नाम बदनाम नगर्न पनि उनले सबैसँग आग्रह गरे। दुष्प्रचार, प्रोपोगाण्डा र उद्देश्यप्रेरित हल्लाको पछि नलागेर विद्यालयले गरिरहेका राम्रा पहल, नवोन्मेषी काम र विद्यार्थीमुखी अभियानहरूलाई साथ र सहयोग गर्न उनले अभिभावक, शुभचिन्तक तथा नागरिक समाजलाई अपील गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement