धर्मशाला: अफ् स्पिनर रविचन्द्रन अश्विन १०० वटा टेस्ट म्याच खेल्ने १४औं भारतीय बने। ईंग्ल्याण्ड विरुद्ध धर्मशालाको एचपीसीए स्टेडियममा सीरीजको पाँचौं टेस्ट म्याच खेल्न मैदानमा ओर्लिनको साथै अश्विनले यस अभूतपूर्व उपलब्धिलाई आफ्नो नाम गरे। धर्मशालामा म्याच शुरु हुन अघि भारतीय टीमका मुख्य प्रशिक्षक राहुल द्रविड़ले अश्विनको परिवारसँग यस खास क्षणको खुशीयाली मनाउँदै अश्विनले १००औं टेस्ट म्याचको विशेष क्याप प्रदान गरे।

भारतको तर्फबाट अश्विन बाहेक सचिन तेन्दुलकर (२००), राहुल द्रविड़ (१६३), भीभीएस लक्ष्मण (१३४), अनिल कुम्बले (१३२), कपिल देव (१३१), सुनिल गावस्कर (१२५), दिलीप भेंगसरकर (११६), सौरभ गांगुली (११३), विराट कोहली (११३), ईशन्त शर्मा (१०५), हरभजन सिंह (१०३), चेतेश्वर पुजारा (१०३) र विरेन्द्र सेहवाग (१०३)-ले सय या त्यसभन्दा अधिक टेस्ट म्याच खेलेका छन्।
अश्विनले अहिलेसम्म आफ्नो इण्टरनेशनल करियरमा ९९ वटा टेस्टमा ५०७, ११६ वटा वनडे-मा १५६ र ६५ वटा टी२० इण्टरनेशनल म्याचमा ७२ विकेट लिएका छन्। टेस्ट प्रारूपमा बलक साथ उनको औसत २३.९१-को रहेको छ जबकि उनले ३५ वटा ईनिंग्समा ५ विकेट र ८ पल्ट म्याचमा १० विकेट लिएका छन्। अश्विनले २०११-मा टेस्ट क्रिकेटमा पदार्पण गरेका थिए अनि त्यस समयदेखि उनी भारतीय टेस्ट टीमका प्रमुख खेलाड़ी रहेका छन्। विशेषगरी घरेलु सीरीजहरूमा उनी विपक्षी ब्याटरहरूका निम्ति आतंकको पर्याय हुन्। उनी कुम्बलेलाई पछि छोड़ेर घरेलु टेस्टमा भारतको निम्ति सर्वाधिक विकेट लिने बलर बनेका थिए। यसरी जारी टेस्ट सीरीजको अवधि उनले घरेलु टेस्ट क्रिकेटमा ३५० विकेटको आँकड़ा पनि पार गरेका थिए। राजकोटमा अश्विनले टेस्ट क्रिकेटमा ५०० विकेटको आँकड़ा पार गरेका थिए अनि यस उपलब्धिलाई हासिल गर्ने उनी कुम्बलेपछि दोस्रो भारतीय बलर हुन्। उनी मुथैया मुरलीधरण, शेन वार्न, जेम्स एण्डरसन, स्टुअर्ट ब्रड, कुम्बले, ग्लेन म्याकग्रा, कर्टनी वल्श र न्याथन लियोनपछि टेस्ट क्रिकेटमा ५०० विकेट पूरा गर्ने नवौं बलर बनेका थिए।

उल्लेखनीय छ, अश्विनको साथमा धर्मशालामा ईंग्ल्याण्डका जनी बेयरस्टले पनि आफ्नो १००औं टेस्ट म्याच खेलिरहेका छन्। यस उपलब्धिसम्म पुग्ने उनी ईंग्ल्याण्डका १७औं क्रिकेटर हुन्। धर्मशाला टेस्ट अघि बेयरस्टोले ९९ वटा टेस्टमा १२ वटा शतक र २६ वटा अर्द्धशतकको साथ ३६.४२-को औसतले ५९७४ रन बनाएका छन्।










