गान्तोक: राज्य सरकारले आगामी शिक्षण वर्षदेखि सालमा २० जना अनुसूचित जाति समुदायका मेधावी विद्यार्थीको पठान-पाठनको जिम्मेवारी लिनेछ। मुख्यमन्त्री प्रेम सिंह तमाङले आज पूर्व सिक्किमको सरमसा गार्डनमा अनुसूचित जाति संस्कृति संरक्षण महोत्सवलाई सम्बोधन गर्दै यो घोषणा गरेका हुन्। विद्यालय, महाविद्यालय तथा विश्वविद्यालय कुनै पनि तहमा अध्ययनरत २० जना मेधावी विद्यार्थीको अध्ययनको सम्पूर्ण जिम्मेवारी सरकारले लिने उनले बताए। मुख्यमन्त्रीकाअनुसार यी विद्यार्थीहरूको अध्ययन खर्च मुख्यमन्त्री विवेकाधीन कोषबाट उपलब्ध गराइनेछ।
अखिल सिक्किम अनुसूचित जाति कल्याण सङ्घद्वारा आयोजित दुई दिवसीय सांस्कृतिक महोत्सवको समापन समारोहमा आज मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथि रहेका थिए। विविध कार्यक्रमको साथमा आयोजित महोत्सवको समापन समारोहमा छिमेकी राज्य पश्चिम बङ्गालको डुवर्स निवासी ख्यातिप्राप्त गायक इन्द्रजित मिजार साथै विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने अनुसूचित जाति समुदायका व्यक्तित्वहरूलाई सम्मान जनाइयो। यसरी नै अनुसूति जाति समुदायको हितमा उल्लेखनीय कार्य गरेकोमा मुख्यमन्त्री प्रेम सिंह तामाङलाई पनि अभिनन्दन जनाइयो। यस दुई दिने समारोहमा अनुसूचित जाति समुदायका संस्कृति अनि परम्परा झल्काउने स्टलहरू पनि लगाइएको थियो जसको आज मुख्यमन्त्री तामाङले पनि अवलोकन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले राज्य सरकारले सिक्किमे समाजलाई एउटा सिङ्गो समाज निर्माण गर्ने दिशामा काम गरिरहेको बताए। “हाम्रो सरकारले सिक्किमे समाजलाई जोड़ने काम गरिरहेको छ”, उनले भने। यसै क्रममा बोल्दै राज्यका अनुसूचित जाति समुदायको साथमा राज्य सरकार सदैव रहने उनले थप बताए। अबको केही दिन पछि चुनाउ आचार संहिता लागु हुनेछ भन्दै अनुसूचित जाति समुदायले राखेका विभिन्न मागलाई सरकारले आगामी कार्यकालमा पूरा गर्ने पनि मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा बताए। दुई दिवसीय सांस्कृतिक महोत्सव बारे बोल्दै यस कार्यक्रमले इतिहास लेख्ने काम गरेको उनले बताए। यसको साथै मुख्यमन्त्रीले यस कार्यक्रमलाई वार्षिक रुपमा आयोजना गर्ने सुझाउ पनि दिएका छन्।
आज आफ्नो सम्बोधनको क्रममा विभिन्न कार्यक्रमहरूमा आफूलाई प्राप्त भएका महङ्गा महङ्गा उपहारहरू जमा गरेर आवश्यक्तामा परेकाहरूलाई प्रदान गर्ने मुख्यमन्त्री तामाङले बताए। “मरो लागि सम्मान पत्र नै पर्याप्त छ”, उनले भने।
कार्यक्रममा राज्य विधानसभाका अध्यक्ष अरुण कुमार उप्रेती, मन्त्रीमण्डलका सदस्यहरू साथै मुख्यमन्त्रीकी धर्मपत्नी श्रीमती कृष्ण राईको पनि उपस्थिति रहेको थियो।