सोनादा: टुंग सन्त मेरिज समष्टिको सिपाहीधुरा वुडकट नजिक जेजेएम अन्तर्गत वाटर रिसिभर निर्माणको लागि आज भूमि पूजन कार्यक्रम सम्पन्न भएको छ। लगभग २४ करोड़ रूपियाँ बराबरको लागतमा निर्माण हुन लागेको वाटर रिसिभर टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पाको उपस्थितिमा उक्त भूमि पूजन कार्यक्रम सम्पन्न भएको छ। जल जीवन मिशन अन्तर्गत निर्माण हुन लागेको उक्त वाटर रिसिभरले टुंग सन्त मेरिज समष्टिको सन्त मेरिज ग्राम पञ्चायत एकको विभिन्न गाउँहरूलाई पानी वितरण गरिने जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रममा युवा शक्ति टुंग सन्त मेरिज समष्टिको सचिव दिपेस तामाङ, पञ्चायत सदस्य बिगैया अधिकारी लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै क्षेत्रीय सभासद नुरी शेर्पाले यो पानीको लेक निर्माणको लागि केही महिना अघि नै शिलान्यास गरिएको थियो। तर केही समस्या भएकोले अहिले काम शुरु हुँदैछ भनी बताएका छन्। उनले यो पानीको लेक निर्माण भएपछि समष्टीको धेरै ठाउँहरूमा सुक्खा समयमा पनि पानी वितरण गरिनेछ भनी बताएका छन्। त्यसरी नै यो काम विषयमा
पत्रकारहरूलाई सम्बोधन गर्दै पीएचई विभागको कार्यकारी अभियन्ता मणिरत्न मंग्रातीले धेरै अघि नै शिलान्यास भए पनि रोडको समस्याको कारण काम भएको थिएन। तर अब यो काम शुरु हुनेछ अनि यसको निर्माण खर्च १२-१३ करोड़ भएपनि सबै काम लगाएर जम्मा २४ करोड़को खर्च यसमा लाग्ने बताएका छन्। उनले यो पानीको लेक बनिएपछि टुंग, सन्त मेरिज, सिंगेल आदि क्षेत्रलाई सुविधा हुने र सुक्खाको समयमा पनि पानी वितरण गरिनेछ भनी बताएका छन्। उनले यो काम आगामी दिसम्बर महिनाभित्र पूरा हुने पनि बताएका छन्।