गान्तोक: राजधानीस्थित समन भवनमा आज मन्त्री परिषदको बैठक सम्पन्न भयो। मन्त्री परिषद सचिवालयद्वारा आयोजना गरेको यस बैठकमा विशेष गरेर एसकेएम पार्टी सरकारको पहिलो कार्यकालमा मुख्यमन्त्रीको नेतृत्व साथै निर्देशमा हासिल गरेको सामूहिक उपलब्धि र माइलखुट्टीको समिक्षा गरियो। बैठकमा राज्यका मुख्य सचिव भीवी पाठकले एसकेएम सरकारको पाँच वर्षको कार्यकालमा भएको कार्यबारे प्रतिवेदन प्रस्तुत गरे।
उनले आफ्नो प्रतिवेदनमा जनताप्रतिको दायित्व पूरा गर्न राज्य सरकारको अथक प्रयासलाई प्रकाश पारे। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेम सिंह तामाङले सर्वप्रथम राज्यका जनताले सेवा गर्ने अवसर प्रदान गरेकोमा जनताप्रति कृतज्ञता प्रकट गरे। उनले मन्त्री परिषदको बैठकमा सदैव जनताको हितलाई प्राथमिकता दिएको, न्याय प्रदान गर्न र सबै सिक्किमेली नागरिकहरूको हितको रक्षा गर्न प्रयास गरेको बताए।

मन्त्रीपरिषद्ले गरेका सक्रिय र नागरिक केन्द्रित कार्यहरूले जनताका विविध आवश्यकताहरू सम्बोधन गर्न र सकारात्मक परिवर्तनलाई अगाडि बढाउने सरकारको प्रतिबद्धता झल्काएको अवगत गराए। मुख्यमन्त्रीले आफ्नो मन्त्रीपरिषदका सहकर्मीहरूलाई पहिलो कार्यकालको सफल समापनमा योगदान पुर्याएकोमा प्रशंसा गर्दै अरुण कुमार उप्रेतीले सिक्किम विधान सभाको अध्यक्षको रूपमा सेवा पुऱ्याएको कुरालाई स्वीकार गरे।