केएन राई तलमाथि केही भएमा त्यसको जिम्मेवार एसडीएफ पार्टी रहनेः जेकब खालिङ
गान्तोक: गत ८ जनवरीदेखि शुरू भएको एसकेएम पार्टीको सांगठनिक जनसभा आज मंगन जिल्लास्थित जङ्गुको नाम्प्रिकदाङमा सम्पन्न भयो। आजको सभामा मुख्य अतिथिको रुपमा संगठनका संयोजक एवं प्रवक्ता जेकब खालिङ उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा क्षेत्र विधायक पिञ्चो नाम्ग्याल लेप्चा, क्षेत्र प्रभारी छुङ किपु लेप्चा लगात अन्य पधाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि खालिङले गत केही दिन अघि पूर्व विधानसभा अध्यक्ष केएन राईमाथि भएको प्राणघातक हमलामा संलग्न दोषीहरूलाई पक्राउ गर्नको निम्ति राज्यको मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत आफू स्वयं दिन रात एक गरेर लागेको र अन्तत सबै आरोपीहरूलाई पक्राउ गर्न सक्षम बनेको बताए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टी अनि सरकारका तमाम नेतृत्व अनि कार्यकर्ताहरूले त्यो घटनाको भत्सर्ना गरेको उनले बताए। केएन राईको उपचार अहिले सही ढंगमा भइरहेको साथै उनको स्वास्थ्यमा लाभ आइरहेको कार्यक्रममा जानकारी गराए। तर यति हुँदा हुँदै पनि एसडीएफ पार्टीले यसलाई मुद्दा बनाएर अघि ल्याउन खोजिरहेको उनले आरोप लगाए। केएन राईलाई उपचार गर्ने डाक्टरले उनको स्वास्थ्यमा सुधार आइरहेको बताए पनि इन्जेक्सन लगाउन धरि नजान्ने डाक्टरहरूले घरि घरि क्रिटिकल शब्द दोहोराएर सिक्किमे जनतालाई आन्दोलित बनाएर सड़कमा उतारेर अत्याधिक विध्वंस गरेर सरकारलाई तल झार्न बाध्य बनाउने प्रयासमा एसडीएफ पार्टी तयारीमा रहेको अगत गराए। यदि केएन राई तल माथि केही भइहाल्यो भने राजनीति चम्काउन सजिलो हुनेछ भन्ने एसडीएफ पार्टीको मनसाय रहेको छ। उनीहरूको आँखा अघि २०१४ को चुनाउमा एनके गरुङको हत्या अनि त्यसमाथि उनीहरूले गरेको राजनीति अहिले फ्ल्यासब्याक भइरहेको छ।” एसडीएफ पार्टीको नियत पटक्कै सही नरहेको किटान गर्दै यदी केएन राईको स्वास्थ्यमा तल माथि केही भइहाले यसको जिम्मेवार एसडीएफ पार्टी अनि पूर्व मुख्यमन्त्री चामलिङ जिम्मेवार रहने उनले बताए। यसै घटनालाई लक्ष्य गरेर एसडीएफ पार्टीले आफू मास्टर माइन्ड रहेको बताउँदै मल्ली थानामा एफआईआर दर्ता गरेको साथै आज मात्र राज्यपाल समक्ष पनि मेमोरेण्डम बुझाएको उनले बताए। उक्त मेमोरेण्डममा यदि जेकब खालिङलाई पक्राउ नगरे एसडीएफ पार्टी सिभिल डिस ओभिडियन्समा जान्छौ भन्ने उल्लेख रहेको बताए। यसबाट एसडीएफ पार्टीले तमाम सिक्किमे जनतालाई भड़्काएर देशको संविधानविरुद्ध लगेर सरकारी सम्पतीहरूको तहस नहस पार्नु मनसाय रहेको पनि उनले किटान गरे। यो दुखद घटनालाई एसडीएफ पार्टीले राजनीतिलाई चम्काउने एउटा माध्यमको रुपमा मात्र हेरिरहेको उनले किटान गरे। यहाँका गरीब नानीहरूले सरकारी खर्चमा टीएनएमा पढ़्न पाउने कोटालाई बन्द गरिदिएको पनि दावी गरे। पवन चामलिङको यो कार्यले १ सय भन्दा अधिक नानीहरू गुणस्तरीय शिक्षाबाट बञ्चित हुनपरेको तितो सत्य पनि उनले उजागार गरे।