खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत जंगपाना र घुम्ती चियाबारीमा सांगठनिक सभा साथै प्रशाखा गठन कार्य सम्पन्न गरिएको छ। केही दिनदेखि लगातार रूपमा भागोप्रमो तीनधारे महानदी समष्टिको आयोजनामा शाखा पसौं अभियान र शाखा साथै प्रशाखा कमिटीहरू पनि गठन गरिएको छ। यस क्रममा लोवर जंगपाना चियाबारीमा पञ्चायत सदस्या रञ्जना छेत्रीको अध्यक्षता र सागर गुरुङको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई क्षेत्रीय सभासद नवराज छेत्रीले सम्बोधन गरेका थिए। त्यसरी नै अर्को सभा अप्पर जंगपानामा पनि सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा प्रह्लाद राईको अध्यक्षता र सागर गुरुङकै सञ्चालनमा सम्पन्न भएको छ। सभालाई भागोप्रमो खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइली, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, पञ्चायत समिति सदस्य कुसाङ लामा र पञ्चायत सदस्या रञ्जना छेत्रीले वक्तव्य राखेका थिए। यसै सभामा जंगपाना चियाबारी शाखाको गठन साथै दुईवटा प्रशाखा गठन पनि गरिएको छ। यस अन्तर्गत अप्पर जंगपाना प्रशाखामा सभापति सोनाम लामा र सचिव रञ्जना छेत्री अनि लोवर जंगपाना प्रशाखा कमिटीमा सभापति हेमकुमार देवान र सचिव रूस्तम गुरुङ चयन भएका छन्। भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत आज नै घुम्ती चियाबारीको दुईवटा बुथहरूलाई लिएर सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा भूतपूर्व सैनिक कृष्ण प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ।

सभालाई पञ्चायत समिति सदस्या सरिता मुखिया र कुसाङ लामा, पञ्चायत सदस्या सुदेशना लेप्चा, प्रणाम रसाइली, सभासद नवराज छेत्री आदिले वक्तव्य राखेका थिए। घुम्ती चियाबारीको दुईवटा बुथहरूलाई लिएर शाखा कमिटी पनि गठन गरिएको जसलाई आगामी १३ मार्चको दिन हुने समष्टीको सभामा सिफारिश गरिने भएको छ। जंगपाना चियाबारीमा सम्पन्न सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले विस्तृत रूपमा जानकारी गराएका छन्।