सिलगढी: आज ईस्ट बेगल क्लबको १०३औं स्थापना दिवस तथा सिलगढी ईस्ट बेङ्गल फ्यान क्लबको ६औं स्थापना दिवस धुमधामसित पालन गरियो। सिलगढीको कञ्चनजङ्घा स्टेडियमको प्राङ्गणमा धुमधामको साथमा उक्त दिन पालन गरियो। ईस्ट बेङ्गल क्लबको प्रतिष्ठा दिवस प्रत्येक वर्ष सिलगढी ईस्ट बेङ्गल फ्यान क्लबको तर्फबाट पालन गर्दै आइरहेको छ। कार्यक्रममा सबभन्दा पहिले ईस्ट बेङ्गल क्लबको झण्डा उत्तोलन गरेपछि दीप प्रज्ज्वलन गरिएको थियो। त्यसपछि बेलुनहरू उडाएर केक काटेर सिलगढी नगरनिगमको १२ नम्बर वार्ड काउन्सिलर बासुदेव घोष, क्लबका सचिव अनुप बसु लगायत ईस्ट बेङ्गल प्रेमीहरूले कार्यक्रम शुरू गरे। यसको साथै सिलगढी जिल्ला अस्पतालका असहाय रोगीहरूलाई खानेकुरा वितरण गर्यो। सिलगढी ईस्ट बेङ्गल फ्यान क्लबका सचिव अनुप बसुले बताएअनुसार आज पानी परे तापनि यसको पर्वाह नगरेर ईस्ट बेगल प्रेमीहरू स्थापना दिवसको अवसरमा सामेल भएकोमा धेरै खुसी छु। राम्रो प्रकारले कार्यक्रमको आयोजना भइरहेको छ। आगामी १३ अगस्तमा रक्तदान, स्वास्थ्य जाँच शिविर एवम् म्याग्जिनको लोकार्पण पनि गरिने भएको छ।










