गान्तोक: फुटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडको तत्वावधानमा आयोजना भएको सिक्किम प्रिमियर लिगको दोस्रो चरणको फाइनल खेल हिजो राजधानीस्थित पाल्जर स्टेडियममा भव्यताको साथमा सम्पन्न भयो। हिजोको फाइनल खेल सिङलिङ एफसी बनाम थन्डरबोल्ट एफसीबीच सम्पन्न भएको थियो, जसमा सिङलिङ एफसीले शून्यको विरूद्ध तीन गोल गरेर दोस्रो चरणको ट्रफी आप्नो टोलीको नाममा दर्ता गर्न सफल बन्यो।
उक्त प्रतियोगिताको फाइनल खेलमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने उनकी धर्मपत्नी कृष्ण राई लगायत अन्यहरूको विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए। यस समापन समारोहमा विभिन्न सांगीतिक कार्यक्रमहरुको प्रस्तुति रहेको थियो। नेपालबाट आएका कलाकार मेलिना राई, मिलन नेवार अनि आनन्द कार्की साथै बलिउडका ख्यातिप्राप्त गायक पापोनले सुन्दर प्रस्तुति दिएका थिए। यस प्रतियोगिताको विजेता साथै उपविजेता दललाई नगद राशि साथै आकर्षक पुरस्कार प्रदान गरियो।

मुख्यमन्त्रीले आफ्नो छोटो सम्बोधनमा सिक्किम प्रिमियर लिगका आयोजकवर्गलाई सफलतापूर्वक र भव्यताका साथमा कार्यक्रम सम्पन्न गरेकोमा बधाई टक्राउँदै यस लिगको तेस्रो सिजन अझ भव्यरूपमा आयोजना गर्ने सुझाव दिए।हिजो सम्पन्न भएको खेलमा सिङलिङ्ग स्पोर्टिङ क्लबका साहिल लिम्बूलाई सिक्किम सुपरिम इमर्जिङ प्लेयरको रुपमा चयन गरियो साथै यही दलका गोल किपर प्रणुप लिम्बुलाई म्यान अफ द म्याच घोषित गरियो।