पाकिम: मानव धर्मका प्रणेता सतपाल महाराजले सिक्किमको विकासको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङको हात बलियो बनाउनु पर्छ भनी आह्वान गरेका छन्। सतपाल महाराज आज (मंगलवार) पाकिम जिल्लाको नाम्चेबुङ निर्वाचन क्षेत्र अन्तर्गत नाम्चेबुङमा नवनिर्मित ध्यान केन्द्र एवं मानव धर्म मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै थिए।
१.०२४ हेक्टरमा निर्मित यस मन्दिरको उद्घाटन सतपाल महाराजको उपस्थितिमा मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीद्वारा गरियो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सतपाल महाराजले मुख्यमन्त्री तामाङलाई विकास पुरुषको संज्ञा पनि दिए। मुख्यमन्त्रीले यो मन्दिर निर्माण गर्ने वचन दिएको र उनले आफ्नो वचन पूरा गरेको सतपाल महाराजले बताए। उनले आफ्नो सम्बोधनको क्रममा सिक्किम सरकारले शुरू गरेका विभिन्न जन कल्याणकारी योजनाहरू र कार्यक्रमहरूमाथि प्रकाश पारेका थिए। यस क्रममा उनले मेरो रूख मेरो सन्तति कार्यक्रमलाई विश्वस्तरमा मान्यता पाएको पनि उल्लेख गरे।
उनले सिक्किमको विकासको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङको हात बलियो बनाउनु पर्छ भने। मुख्यमन्त्रीलाई सबैले आशीर्वाद दिनेछन् र मुख्यमन्त्रीले पनि राम्रा कामहरू गर्नेछन् भनी सतपाल महाराजले विश्वास व्यक्त गरे। यसरी नै उनले मानव उत्थान सेवा समितिले आगामी दिनहरूमा पनि सरकारबाट सहयोग प्राप्त गरिरहनेछ भनी उनले आशा व्यक्त गरे।
उनले भारत अहिले अमृतकालमा छ भन्दै देशका प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा भइरहेका कार्यहरूको सराहना गरे। उनले अयोध्यामा राम मन्दिर निर्माणको निम्ति विगत ५०० वर्षदेखि प्रतीक्षा चलिरहेको थियो भने आज राम मन्दिरको निर्माण कार्य पूरा भएको छ भने। उनले यी केन्द्रहरू ज्ञानको प्रसारण गर्ने ठाउॅं हुन् भन्दै जहॉंबाट समाजलाई सही मार्गदर्शन प्राप्त हुनेछ भनी बताए।