मुख्यमन्त्रीले सिङताम र पेलिङमा भवन निर्माण गरिदिने घोषणा गरे
गान्तोक: पाकिम जिल्ला अन्तर्गत नाम्चेबुङ निर्वाचन क्षेत्रमा आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ र मानव धर्मका प्रणेता सतपाल महाराजले ध्यान केन्द्र एवम् मानव धर्म मन्दिरको उद्घाटन गरे।
यस अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, मन्त्री विष्णु कुमार खतिवडा, क्षेत्र विधायक एम प्रसाद शर्मा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले यस मन्दिरको शिलान्यास पूर्व सरकारले गरेको जानकारी गराउॅंदै भने, पूर्व सरकारले शिलान्यास गरेर त्यतिकै छोडेको थियो। सरकारको तर्फबाट एकै पैसा पनि छुट्याएको थिएन। केवल भक्तहरूको मन राख्नको निम्ति मात्र भनेर यसको शिलान्यास गरेको थियो। मनभित्र यो मन्दिर बनिनु पर्छ भन्ने थिएन। यदि मनबाट नै काम गर्छु भन्ने सोचेको भए यसको निम्ति धनराशि छुट्याउने थियो।
मुख्यमन्त्रीले आफुहरू सरकारमा आएको खण्डमा मन्दिर बनाउने वचन दिएका थियौं र आज आफ्नो वचन पूरा गरेका छौं भनी बताए। उनले सरकार गठन गरेपछि पूर्वाग्रह नराखि सबैलाई समान दृष्टिले हेरेर काम गरिरहेको पनि दाबी गरे। उनले धर्मलाई राजनीतिदेखि टाडा राख्नुपर्छ भन्ने आफ्नो विचार राखे भने राजनीतिमा धर्मको महत्वमाथि पनि प्रकाश पारे।
उनले आफ्नो सम्बोधनमा केही घोषणाहरू पनि गरे। यस क्रममा मुख्यमन्त्रीले सिङताममा मानव उत्थान सेवा समितिको निम्ति जमिन प्रदान गर्ने र त्यहॉं भवन पनि निर्माण गरिदिने घोषणा गरे। यसरी नै उनले पेलिङमा समितिको आफ्नो जमिनमा पनि सरकारले भवन निर्माण गरिदिने घोषणा गरे।
यो केन्द्र लगभग २२.७९ करोड रूपियॉंको लागतमा निर्माण गरिएको हो। यस मन्दिरको निर्माण कार्य १८ जनवरी, २०२० मा थालिएको हो भने गत २ मार्चको दिन निर्माण कार्य पूरा गरिएको मानव उत्थान सेवा समिति सिक्किमका महासचिव सीके प्रधानले आफ्नो प्राविधिक प्रतिवेदनमा जानकारी गराए।
कार्यक्रममा मानव उत्थान सेवा समिति सिक्किमको तर्फबाट मुख्यमन्त्री प्रेमसिंह तामाङलाई सम्मानित गरियो। आजको उद्घाटन कार्यक्रममा सिक्किम लगायत दार्जीलिङ, कालेबुङ, डुवर्स तथा अन्य ठाउॅंहरूबाट पनि मानव उत्थान सेवा समितिका सदस्यहरू उपस्थित थिए।