विराटनगर: संस्कृति जगेर्नाका लागि इलाममा आदिवासी याक्थुङ, लिम्बू सांस्कृतिक महोत्सव र किरात याक्थुङ चुम्लुङ आयोजना गरिँदैछ। आदिवासी लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। ७ र ८ मार्च (फागुन २४ र २५ गते) तथा २५औं राष्ट्रिय चुम्लुङ आयोजना गरिने आयोजकले जनाएको छ। चुम्लुङका महासचिव निरन्ती तुम्बापोका अनुसार चुम्लुङ संघीय कार्य समिति तथा आदिवासी याक्थुङ, लिम्बू सांस्कृतिक महोत्सव मूल आयोजक समितिको आयोजनामा कार्यक्रम गर्न लागिएको हो। पूर्वका नौ, उपत्यकाका तीन र चितवनका समेत गरी १३ जिल्लाका दुई सयभन्दा बढी सहभागी महोत्सवमा सहभागी हुने जनाइएको छ। महोत्सवमा विदेशस्थित चुम्लुङका प्रतिनिधिको पनि सहभागिता हुनेछ। त्यस क्रममा मौलिक जातीय पहिरन लगाएर प्रतिनिधिहरु सहभागी हुने आयोजकको भनाइ छ। महोत्सवका क्रममा धान नाच, च्याब्रुङ नृत्यसहित मौलिक सांस्कृतिक कला र परम्पराको प्रदर्शन गरिने भएको छ।