खरसाङ: खरसाङको चानमारी खेल मैदानको ठीक मुन्तिर सेरिकल्चर विभागको ८ ऐकर जमीनको आज जीटीएको भूमि अनि भूमि सुधार विभाग र सेरीकल्चर विभागले संयुक्त रूपमा भूमि सर्वेक्षण गरेको छ।

सर्वेक्षण टोलीमा जीटीएको प्रतिनिधित्व जीटीए सेक्रेटरी सुदेन भोटिया अनि खेलकूद विभागका कार्यकारी निर्देशक अरिजित मित्रले गरेका थिए भने भूमि अनि भूमि सुधार विभागको प्रतिनिधित्व बीएलआरओ डिकी शेर्पा अनि आरओ रानी थापाले गरेका थिए। सेरिकल्चर विभागलाई प्रतिनिधित्व डेपुटी डिरेक्टर, तपन कुमार मैती, सहायक अधीक्षक शोभा राई अनि प्रदीप प्रधानले गरेका थिए।
सर्वेक्षणको उद्देश्य बताउँदै जीटीएको सचिव सुदेन भोटियाले भने, “जीटीएका चिफ् अनित थापाले खरसाङको खेल प्रेमीहरुलाई ध्यानमा राखेर एउटा वृहत स्टेडियम अनि खेलकूद कम्प्लेक्स निर्माण गर्ने परिकल्पना गरेका छन्। सम्बन्धित विभागहरू, स्पोर्ट्स अथोरिटी अफ् वेस्ट बंगालसँग अनित थापाले परियोजनाको निम्ति पत्राचार गरिसकेको छ। आज त्यही पहलको क्रममा अन्तर विभागका प्रतिनिधिहरूले मिलेर जमीनको सर्वेक्षण गरेको हो। सेरिकल्चरको अधीनमा रहेको यो जमीन स्टेडियमको निम्ति उपयुक्त रहेको छ। यहाँ निर्माण हुने खेलकूद कम्पलेक्सले दार्जीलिङ पहाडको खेलकुद विकासलाई प्रोत्साहन गर्नेछ। त्यसको साथमा पहाडको पारम्परिक खेललाई प्रोत्साहन गर्नेछ।”

अरीजित मित्रले जानकारी दिए अनुसार पहिला यो जमीनको हस्तान्तरण जीटीएलाई गरिनेछ तत्पश्चात यसै जमीनमा खेल कम्प्लेक्सको निर्माण हुनेछ। कम्प्लेक्सको निम्ति करिब ५ ऐकर जमीनको आवश्यकता रहेको बताइएको छ।
वर्तमान खरसाङमा हुने फुटबल अनि अन्य खेल चानमारीस्थित सेनाको मैदानमा आयोजना हुने गर्दछ।