सिलगढी: वन विभागद्वारा सयपत्री फुल, बेल पत्ता र मुल्तानी मिट्टीद्वारा हर्बल अबीर तयार पारेको छ। बजारमा उपलब्ध विभिन्न कम्पनीको अबीरले एलर्जी हुने गरेकोले गर्दा केही मानिसहरू अबीर खेल्न रुचाउँदैनन्। वन विभागको नन टिम्बर फरेस्ट प्रोड्युस डिभीजनको तर्फबाट प्रत्येक वर्ष हर्बल अबीर बनाउने गर्दछ। तर यस वर्ष बाघडुग्राको टाइपोमा यो हर्बल अबीर तयार गरिएको छ भने यसको बिक्री शुरू भइसकेको छ। यस वर्ष सुन्तले, हरियो र पहेँलो रङ्गको लगभग ७ क्विन्टल हर्बल अबीर बनाइएको छ। सुन्तले र पहेँलो अबीर सुगन्धित मुल्तानी मिट्टी र सयपत्री फुललाई मिसाएर बनाएको छ। हरियो रङ्गको अबीर बेल पत्ता, सुगन्ध र मुल्तानी मिट्टी मिसाएर बनाएको छ। ५०० ग्रामको अबीरको प्याकेटको मूल्य ९० रुपियाँ र २५० ग्राम अबीरको प्याकेटको मूल्य ५० रुपियाँ राखेको छ। यो अबीर कलेजपाडामा वन स्टोरमा बिक्रीमा राखेको छ। यसको साथै उक्त अबीर जलपाईगढीमा पनि उपलब्ध छ। नन टिम्बर फरेस्ट प्रोड्युस डिभीजनको डीएफओ एसपी शर्माले बताएअनुसार गत वर्ष यस अबीरको बिक्रीमा लगभग ४६ हजार रुपियाँको आमदानी भएको थियो भने यस वर्ष १ लाख रुपियाँको आमदानी हुनेछ।