खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत सांगठनिक सभा आज घैयाबारीमा सम्पन्न भएको छ। घैयाबारीको बुथ नम्बर २५५ लाई लिएर उक्त सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा बुथ कमिटीको सभापति नरेन राईको अध्यक्षता र बुथ कमिटीको सचिव नवराज प्रधानको सञ्चालनमा सम्पन्न भएको छ। सभामा स्वागत सम्भाषण पञ्चायत समिति सदस्य कुसाङ तामाङले स्वागत सम्भाषण राखेका थिए। सभालाई भागोप्रमो खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइली, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, तीनधारे महानदी समष्टिको सांगठनिक सचिव एंव प्रवक्ता बिपन विश्वकर्म र युवराज प्रधान आदिले सम्बोधन गरेका थिए। सभामा घैयाबारीको बुथ नम्बर २५५ को कमिटीलाई नै शाखा कमिटीको रूपमा यथावत् राखिने निर्णय गरिएको छ। यस बुथ अन्तर्गत रहेको पाँचवटा गाउँहरूलाई लिएर प्रत्येक गाउँमा प्रशाखा गठन गर्नलाई संयोजकहरू चयन गरिएको छ। संयोजकहरूले आफ्नो आफ्नो गाउँमा प्रशाखा गठन गर्ने दायित्व सुम्पिएको छ। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई लगायत अन्यहरू पनि उपस्थित रहेका थिए। यस सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सचिव एंव प्रवक्ता बिपन विश्वकर्मले विस्तृत रूपमा जानकारी गराएका छन्।