घटना                  

Untitled-1-copy-1

(१)

उमेर त संख्या बढ्दै जाने एक प्रक्रिया रैछ। जीवनको हिसाब-किताबमा कैले जोड्दै,कैले घटदै त कैले गुणन क्रियाले मानव अस्मिताको फलाफल प्रस्तुत गर्दोरैछ। जन्मिन्दा, हुर्किन्दा र रित्तिन्दै जाँदा एक-एक समयको मूल्यांकन मान्छेलाई देवल-घडीको काँटाले नमिठो प्रकारले घोची दिँदो रैछ। वर्षले साठी नाघेपछि रणध्वज मगरलाई एस्तै अनुभूत हुन पुग्यो। आफु सरकारी नोकरीबाट सेवा-निवृत भएको दुई वर्षभित्रै स्वास्नी चन्द्रमाया परधाम बास गरी। एतिका वर्षसम्म चन्द्रमायाको कोख रित्तै नै रहँदा रणध्वज चारैतिरबाट एक्लो बन्यो। मनको गाँठो खोल्ने र आँखाको आँशु पोख्ने उस्को कतै ठाउँ नै रहेन। आफ्नो जीवनको हिसाब-किताब कुन सही हो र कुन गलत भएछ छुट्याँउन गाह्रो भयो उस्लाई। बाऊ-आमा रणध्वज चौंथो श्रेणी पढ्दैखेरी नै अघि-पछिको अन्तरालमा उस्लाई टुहुरो पारेर गैसकेको थियो। फुपा-फूपुले पालेर खुट्टामा उभिनेसम्म बनाई दियो, पढाई दियो। फुपा-फुपू नै आमा-बाऊ बराबर थिए रणध्जको लागि।।

 (२)

फूपु-फूपा दुवैजना मेहनती थिए। फूपा रिटायर्ड हवल्दार गोर्खा पल्टने, फूपु सुन्दरी सुरक्षा-बल सिपाहीको छोरी। फूपा मगर थापा थरको ,फुपू राणा थरकी। फुपूको सौन्दर्यले हुरूक्क परेको फुपा जङ्गबहादुर थापा आफू रूपले तेती आर्कषक नभए पनि पौरुषपूर्ण भएकोले व्यक्तित्व आर्कषक थियो। गाउँ-घर र समाजमा उस्को ठाँट गजब्बको थियो। फुपूको सौन्दर्यको गुणगान गर्न जङ्गबहादुर कोईसित पनि थाक्दैन थियो। गज्जक परेको मान्छे, बोल्दा जुँगामा ताव दिने गर्थ्यो र फुपू रत्ना मगर कुशल गृहणी थी। तर तिनीहरूका भाग्यमा दैवले छोरोको धोको  भने लेखिदिएको थिएन, यौटै छोरी थी नर्बदा आफनै पलटनको सुबेदारसंग बिहे भएर असम लागेकी थी। यही चेपारोमा दुवै लोग्ने-स्वास्नी बेला-बेला खुम्चिन्थे। रणध्वजले त्यो अभाव र शून्यतालाई पूर्ण गरिदिएकोथ्यो। ती दुवैका आँखाका तारा थिए रणध्वज साक्खै छोरो भन्दा कम थिएन तिनीहरूका लागि। फुपू एनिमिया रोगले ग्रसित थिई। छोरी नर्बदाको जन्मेपछि उनलाई यो रोगले समातेको थियो। लोग्नेले यथाशक्य उपचारको खर्च गर्यो तर मृत्युलाई जित्न सकेन। पैसा-रूपियाँ पनि काम नलाग्ने देखेर स्वास्नीको मृत्युपछि बिस्तारै रक्सी खाने आदत बढ्दै गयो। रणध्वज कलेज पढन थालेपछि फुपा जङ्गबहादुर झाँकिन्दै गएको थियो। एकदिन रणध्वजले सम्झाउँदै भन्यो, “फुपा तपाईँले आफनो यो लत छाड्नुपर्छ ।समाजले निन्दा गर्न थालीसक्यो। विचरा भन्दैन कसैले ।मातेर खै के पाइन्छ र? फुपू फर्केर आउँछ र? साँचै तपाईँ फुपूलाई माया गर्नु हुन्छ भने लत परेको आदत सुधार्नु पर्छ। शरीर हेर्नोहोस् त कति झिनो भैसक्यो।आफ्नो व्यक्तित्व हराउँदै छ। गाउँ-घरमा तपाईँको इज्जत-सम्मान हराई सक्यो। नत्र म पनि घर छाडेर अन्त्यै कतै गैदिन्छु,तेसपछि तपाई स्वतन्त्र भएर जे पाए तेई गर्नोस्। “रणध्वजको कुरा सुनेर जंगबहादुरको आँखामा प्रथम पल्ट पश्चतापको आँशु टिलपिल देखा पर्यो। साँचै बर्षौ पश्चात कसैले मायाको अधिकार मनैबाट जताएको अनुभव उस्ले गर्यो। रणध्वलाई निर्निमेष हेरिरह्यो। तेसपछि बालक जस्तो ग्वाँग्वाँ गरेर रोयो फुपा जङ्गबहादुर। फुपा एसरी नानी जस्तो रोएको देखेर रणध्वज पनि भक्कानियो। दुवैजना अंगालोमा बाँधिएर धेरैबेर रोईरहें।

 (३)

बाऊ जङ्गबहादुरको बिमारीको खबर पाएर छोरी नर्बदा र ज्वाइँ पनि घर आइपुगेको थियो। दुई सप्ताह बाऊलाई स्यारेर तिनीहरू फेरि आसाम फर्के। अब घरको सप्पै जिम्मेवारी रणध्वज कै काँधमा पर्यो। फेरि रणध्वज एक्लो नै भयो। कलेजबाट स्नातक पास गरेपछि सरकारी नोकरी पनि हात लाग्यो। नोकरी पाएको लगभग एक वर्षभित्र फुपा-फुपूकै जोड्मा रणध्वजको बिहे भएको थियो चन्द्रमायासँग। चन्द्रमायाको बोली-वचन र शील-स्वभाव खुबै राम्रो थियो। चन्द्रमाया एक शहीद सैनिककी छोरा थी। बाऊ सीमानाको युद्धमा आतङ्कवादीको गोलीको शिकार भएकोथ्यो। सरकारले बीर चक्र प्रदान गरेको थियो र साथै आर्थिक सहयोग पनि गरेको थियो। विधवा आमाले एक राशीन– दोकान खोलेपछि घरको आर्थिक अवस्थामा धेरै थप सुधार आउन सहयोग गर्यो। भाइले कलेजको ढोका देख्न पायो। चन्द्रमायाले बाह्र क्लास पास गरेर नर्सको ट्रेनिङ् गर्दा-गर्दै आमालाई नै हात दिएर त्यो राशीन-दोकान नै चलाउन थाली। सानो संसार सुचारू रूपमा चल्दै गयो। रणध्वजसित बिहे भएर आएदेखि चन्द्रमाया बेला-बखत मात्र माइता जाने गर्थी लोग्नेसँग। एकदिन बर्खाको बेला घरकै बाथ-रूममा चिप्लेर पछारिन पुगी उठनै नसक्ने गरी। डाक्टरले हिप-जोईन्ट खुस्केको र भविष्यमा नानी नबस्ने कुरा बताइदिएको थियो। तेस्तो सत्य जानेर दुवै लोग्ने-स्वास्नी केई दिनसम्म खिन्न र उदास भए तर यी सप्पै दैवको हातको खेल सम्झेर जीवन सदा झैं सामान्य प्रकारले छल्न थाल्यो। फुपा जङ्गबहादुरले पनि पूर्णत: आश्वासन तिनीहरूलाई दिए। हुन त फूपा जङ्गबहादुर नै उनीहरूका अभिभावक थिए। यी सप्पै स्मृतिपटमा खेल बन्दै लिङ्गे-पिङ जस्तो ओहोर-दोहोर गर्दै रणध्वजको जीवनमा तछाड-मछाड गर्दै अघि-पछि आइरहन्छ अचेल।

(४)

बिमार परेको फुपा जंगबहादुरले एकदिन समसाँझ रणध्वजलाई डाकेर आफु ढ्ल्केकै ओछ्यान छेउ बस्न लगाउँदै भन्यो, “हेर रणध्वज मलाई सायद भित्र-भित्रै बिमारीले चाप्दै लाँदैछ। वैंशमा नाना थरी के के गरेका राम्रा-नराम्रा कुराहरू, पल्टनमा बितिएका ती युवा अवस्थाका उपद्रवहरू, बिहेपछिका घर-गृहस्थीका सम्झना सप्पै अचेल प्रत्येक छिन मनमा खेलीरहन्छ। बलबुता रहुञ्जेल सप्पै कुरा गरी हिडे ऐले हेर एसरी ओछ्यानमा लडेर जीवन स्वीकार्नु परेको छ। बुहारी चन्द्रमायाले पनि तँलाई असमय छाडेर गई। तेरै आमा-बाऊले पनि सानैमा टुहुरा पारेर तँलाई एक्लै पारेर बितीगयो। फुपूले पनि माया मारेर सँसारै रित्तो पारेर गइहाली। हेरन, मेरो जिन्दगी पनि तँ जस्तै नै एक्लो रह्यो। म सम्झन्छु तेरो भाग्य पनि खोटै रैछ मेरो जस्तै। म पनि कति दिन तेरो सेवामा बाँचुला र! तेरो असाध्य चिन्ता लाग्न थालेको छ अचेल। तँ प्रति मेरो माया अझ गाढा भैजाँदैछ…… यो के हो? के को संकेत हो? मैले बुझ्न सकेको छैन। म पनि मरेर गए भने…….! “भन्दै जङ्गबहादुर रून थाल्यो।

वातावरण एकछिन गम्भीर र शान्त बन्यो। रणध्वजले फुपालाई उचाल्दै ढाडपट्टि सिरानी राखेर ढेसायो। दुवैजनाले एकाअर्कालाई हेरे तर दुवैतिर धमिलो दृशय देखा पर्न गयो हुनसक्छ तिनीहरू दुवैका आँखाहरू आँशुले भरिएका थिए। फुपाकै छेउमा बसेर रणध्वजले भन्यो,”फुपा यो जीवन त तपाईं र फुपूको वरदान हो। यदि तपाईंहरूले मलाई नहुर्कानु भएको भा म ऐले के, कहाँ र कुन अवस्थामा हुन्थे होला। म टुहुरो हुनदेखि बाँचें, पढ्न पाएँ ,नोकरी भो, तपाईँहरूकै आर्शिबादले छोटै भए पनि गृहस्थी जीवन बस्यो। समाज र गाउँमा मलाई नाम दिनुभो कहाँ म एक्लो छु र….! “भनिसक्दै दुवै हत्केलामा अनुहार लुकाएर घोप्टिएर रून थाल्यो.त्यो दृश्य देखेर फुपाले पनि मन थाम्न  सकेन।

फुपाले घिटघिटिन्दै भन्दै थियो, ‘‘रणध्वज! मेरो छोरा! नरूँ बाबु। मैले तँलाई रूवाँए मलाई क्षमा गरिदे तेरो मन दुखाउँन मैले तेसो भनेको हैन। हेर, यो संसार शरीर बाँचुञ्जेल मात्र हो। को सदाकाल रहँदो रैछ यो त तँलाई पनि थाहा भैसकेकै हो,हैन र? म पनि कमजोर भएँ। म एस्तो अवस्थामा पुग्छु भन्ने सपनामा पनि सोचेकै थिन्। उमेरले म पचास्सी पुग्दैछु…शरीरले ठाउँ छाडदैछ। सपनामा तेरो फुपुलाई देख्छु कहाँ टाढा टाढा भाग्दै गरेकी, मलाई फर्किन्दै बोलाउँदै गरेकी। आफ्नै मृत आमा- बाऊलाई पनि कता-कता देख्छु, तेरै बाऊ र आमा पनि डाँडा-काँडा धमिलो देख्छु अचेल। तेहीकारण तँलाई यी सप्पै जिम्मेवारी राम्ररी चलाउनु भनेर बोलाएको हो। तँ बुझकी छस् साह्रै बुझाउन पनि पर्दैन। ज्ञानी छस् धेर सम्झाउन पनि पर्दैन। रिटायर्ड भएको सायद अब एसपाली एक वर्ष मात्र पुग्छ होला। एक्लो भइस सम्हालेर बस्नु एति हो मेरो कुरा,मेरो माया तँलाई बस्l’’ सुनेर फुपाको कुरा रणध्वज झनझन रून थाल्यो।

 (५)

एक्लो जीवन कैले व्यर्थता लाग्छ त कैले तेही एक्लो स्थिति अर्थान्तर पनि लाग्छ। रणध्वज रिटायर्ड भएर पनि जीवन अनेकन थाप्लोमा जिम्मेवार भएकै सोच्छ। मान्छे जन्मेर मात्र कहाँ बाँच्दो रैछ एसले त समयानुकूल बाँच्नलाई सधैँ एक्लो बन्न पर्दो रैछ। फुपा जङ्गबहादुरको एक्लोपनमा उस्ले जीवनका बाँच्नु पर्ने रहस्यलाई छर्लक्क देखेको थियो। सास हुञ्जेल आश र आश रहुञ्जेल गाँसको फेरोमा मान्छेको एकल जीविन्तता कति दयनीय र बढी नाटकीय हुँदोरैछ ऐले रणध्वज एक्लो हुनुको भूमिकामा धेरै कुरा देख्न थाल्छ। बाऊ-आमा साथमा भएनन्। फुपा-फुपू सधैंलाई बसेनन्। स्वास्नी जन्मैले परेनन्। उमेरको गन्तीमा रणध्वज स्वयं एक्लो अंक मात्र भेट्दछ जीवन वरिपरि। उमेरको संख्या जति बढदोछ तेही एकै अंक मात्र आउँछ। त्यो जोडदा पनि एकै। त्यो घटाउँदा पनि एकै। त्यो गुणनमा पनि एकै फर्केर उत्तर बन्छ। रणध्वजलाई कतै पढेको कुरा एक्लो बस्दा झल्यास्स आई पर्छ “मेरो अन्तमा नै मेरो प्रारम्भ छ, मेरो प्रारम्भमा नै मेरो अन्त छl’’

गमेर एकहोरो जीवनलाई निमिठ्यानन पार्न मन लाग्यो तर हैन अर्को मनले पक्रेर उस्लाई अलिक परतिर डोय्राएर लग्यो र यौटा कल्पवृक्षमा बसायो। त्यहाँ तिनले आध्यात्मिक र भौतिक तत्वहरूलाई मनन गर्यो र बेस्सरी हाँस्यो , सम्झ्यो वर्ष अगाडि सपना अदभूत देखेको र तेसलाई स्मृतिमा गाँस्दै लग्यो।  सपनामा उस्लाई घना जंगलमा एकजना जीवनमा कतै पनि नभेटिएको केश, जुंगा र दाह्री सेतै फुलेका एकजना अति वृद्ध  मान्छे। त्यो वृद्ध मान्छेले रणध्वजलाई अझ बाक्लो,निष्पट जंगलभत्रै लग्यो। उ त लट्टिए झै पछि पछि लुरूलुरू हिंडिरह्यो। धेरै टाढा पुगेपछि त्यँहा फैलिएका समाधि स्थल पुगियो। यौटा समाधि-स्थलमा उस्लाई  बस्ने संकेत गर्यो। उ बस्यो तेही नै र छेवैमा त्यो वृद्ध मान्छे पनि बस्यो। त्यो वृद्ध मान्छेले भन्यो, “संसारको चरम शान्ति स्थल हो यो, जहाँबाट जीवनको मूल्यांकन गरिन्छ। तिमी सम्झन्छौं होला यो अन्त हो तर हैन यहाँबाट त प्रारम्भ हुन्छ नयाँ जीवनको’’। जन्मेपछि  मृत्युको कोखमा फेरि जन्म लिनु पर्ने जीवनको यो अनौठो दर्शनले उस्लाई व्याकुल त पाय्रो तर यो अतिरिक्त अर्को विकल्प पनि उस्ले तत्काल पाउन सकेन। रणध्वजको मानसपटमा “मृत्यु नै चरम शान्ति हो’’ गुञ्जीरह्यो। सपनाको त्यो कुराले रणध्वजलाई अतीतमा वर्तमान र वर्तमानमा भविष्यको चक्रव्यूह अन्तर मान्छेको जीवनको परिभाषा कैद बन्न गएको अनुभव भयो।त्यहाँ मनग्गे कुराहरू खेल्दा रणध्वजलाई अनायस शान्ति खोज्न गृह त्याग गर्ने सिद्धार्थ गौतम अनि गृह कलह शान्ति राख्नलाई वन प्रस्थान गर्ने श्री रामचन्द्रलाई धेरै बेर सम्झिरह्यो। ती दुवै त महात्मा भए तर मान्छे चै अभिशप्त? प्रश्न-चिन्हको प्रतीक मात्र बन्यो रणध्वज।  बाऊ- आमा, स्वास्नी र फुपा-फूपु यी सारा सम्बन्ध अतीत थिए वर्तमान भए भविष्यको परिणाम लिएर। पुराण कथामा शिवले सतीलाई बोकेर फनफनिए जस्तो बोकेर साठी नाघेको काँधमा रणध्वज एस पृथिवीमा एक्लो यात्रा तय गर्न तयार छ।

 (६)

समयले उस्लाई जोख्दै गयो। गाउँ-घरमा नयाँ मानिसहरूका बास बस्न थाल्यो। बिस्तारै रणध्वज पुरानिएर नयाँहरूसंग परिचय बाँट्न थाल्यो। गाउँ-घर र तेसका बाटाहरू नयाँ प्रकारले सजिन थाल्यो। पुरानिएका घरहरू धस्काएर नयाँ र अधुनिक ढाँचामा निर्माण कार्य स्थापिन प्रारम्भ भयो। पुराना घरको अन्तमा नै नयाँ गरको प्रारम्भ हुन थाल्यो। रणध्वजका धमिलिएका आँखाका नानीमा पनि ती दृश्य लुक्न सकेन, प्रत्यक्ष भयो। उ थाक्दै जाँदैथ्यो त्यो अनुभव् उसैलाई मात्र थाहा थियो, कसैलाई बाँट्न  चाहन्दैन पनि थियो।

दिनहरू बित्दै गए रातहरू छाडिन्दै गए। प्रत्येक प्रहर रणध्वजलाई अपरिचित लाग्न थालेको थियो। रिटायर्ड भएको सात वर्ष पनि अतीत बन्दै जाँदा मनको घोर अन्धकारमा उस्ले आफूलाई वञ्चित गर्न सक्षम भएन। भारी बोक्न नसक्ने बुढो गधा जस्तो, शिकार गर्न नसक्ने असहाय सिंह जस्तो, बास्न बिर्सेको बुढो भाले कुखुरा जस्तो कस्तो, कस्तो दु:स्वप्न बनेका जीवनका क्षणहरूमा रूमलिन्दै रणध्वज स्वयंमा अतीत भैसकेको बोधमात्रमा उस्को कंकाल स्वरूप जीवनले आफनो अस्तित्वलाई डाडाँको झण्डा जस्तो फरफराई रहेथ्यो।

समयसंग उ हिंडदै नै गयो। एकदिन घुम्दै गर्दा एकजना उनी जस्तै रिटायर्ड साथीले सोध्यो, ‘‘अरे! रणध्वज कस्तो छ?” रणध्वजले पुलुक्क साथीतिर फर्केर हेर्यो, गोजीबाट हात निकाल्यो र कुम अलिक उठाएर जवाफ दियो,” साथी जीवन एक्लो छ’’ साथी छक्क परेर पछि फर्किन्दै, हेर्दै हिडिरह्यो। रणध्वजले उस्लाई एक्लै हिडिरहेको हेरिरह्यो। वरिपरि चकमन्न थियो। समसाँझको बेला,जाडोको मौसममा कम्ति चहलपहल देखिन्छ मान्छेको। यो ठण्डा महिना अति तीब्र भएर सिरेटो सहन नसक्ने गरी हिर्काए जस्तो शरीरमा रणध्वज अनुभव गर्छ। अब म पनि बुढो भएछुको बोधले बेला-बेला रणध्वजलाई सतर्क पारी जिरिङ बनाई दिने गर्छ। आफु घर पुग्ने गल्छेडा नगीच पुग्दा उस्लाई ‘ म किन घर जानु त्यहाँ कोई त छैन। तडपनु पर्ने कारण पनि छैन। कसैलाई केई बजारबाट किनी दिनु पर्ने खुशी पनि अहँ कहाँ छ र! ढ्कढ्क दैलोमा ठोक्दा छिडकिनी खोलेर ‘आई पुग्यौ?’ भन्ने पनि त छैन हौ छैन। मेरो भैदिनको अर्थ रित्तो छ। धत् पुग्नै मात्र पनि के ठूलो कुरा हो र? ‘एस्तै उस्ले के के मनमा कुराहरू खेलाएर घरको छेउ पुग्दा टक्क रोकियो र गोजीमा तालाको चाबी औंलाहरूले छामेर,खेलाएर फनक्क फर्कियो अनि ठीक विपरित दिशा एक्लै शूनशानमा जुत्ता ध्यापध्याप गर्दै एकलै ङिंडिरह्यो…….।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *