नयाँ दिल्ली: भारतीय पुरुष र महिला टेबल टेनिस टीमले इतिहास रच्दै पेरिस ओलम्पिकको टिकट हासिल गऱ्यो। अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ (आईटीटीएफ)-को तर्फबाट जारी ताजा ऱ्याङकिंगको आधारमा पुरुष र महिला टीमले पेरिस जाने टिकट हासिल गऱ्यो। भारतको पुरुष र महिला टीमले ऱ्याङकिंगको आधारमा ओलम्पिकको निम्ति क्वालीफाई गरेको यो पहिलोपल्ट हो। गत महिना बुसानमा भएको विश्व टीम टेबल टेनिस च्याम्पियनशीपको फाइनल्सपछि ओलम्पिकको निम्ति टीम इभेण्टमा सातवटा स्थान बाँचेको थियो, जसलाई विश्व ऱ्याङकिंगको आधारमा दिइनु थियो। आईटीटीएफ-ले बताएअनुसार, नवीनतम विश्व टीम ऱ्याङकिंगमा अहिलेसम्म ओलम्पिकको निम्ति क्वालीफाई नगर्ने शीर्ष ऱ्याङकिंग टीमहरूले पेरिसको टिकट हासिल गऱ्यो। महिला वर्गमा भारतले विश्व ऱ्याङकिंगमा १३औं र पुरुष वर्गमा १५औं स्थानमा रहेर ओलम्पिकको निम्ति क्वालीफाई गऱ्यो। महिला वर्गमा भारत बाहेक पोल्याण्ड, स्वीडेन र थाईल्याण्डले अनि पुरुष वर्गमा क्रोएशिया र स्लोवानियालाई पेरिस ओलम्पिकको टिकट हासिल भयो।
अनुभवी टेबल टेनिस खेलाड़ी शरत कमलले भने, अन्तमा गएर भारतले ओलम्पिकको टीम इभेण्टको निम्ति क्वालीफाई गऱ्यो। हामीले यसको लामो समयदेखि प्रतीक्षा गरेका थियौं। यो मेरो पाँचौं ओलम्पिक हुनेछ अनि म आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न चाहन्छु। विशेषगरी हाम्रो महिला टीमलाई ऐतिहासिक ओलम्पिक कोटा हासिल गरेकोमा बधाई। भारतीय टेबल टेनिसको इतिहासमा यो महत्त्वपूर्ण सफलता हो। साल २००८-को बेजिंग ओलम्पिकमा पहिलोपल्ट टीम स्पर्धालाई सामेल गरिएको थियो। त्यसपछि भारतले पहिलोपल्ट टीम इभेण्टमा हिस्सा लिनेछ। भारतीय पुरुष र महिला टीम ओलम्पिक क्वालीफाईंग विश्व टीम च्याम्पियनशीपको प्री-क्वार्टर फाइनलमा पुगेको थियो। त्यस टुर्नामेण्टमा भारतको पुरुष टीमले दक्षिण कोरिया विरुद्ध ०-३-ले अनि महिला टीमले ताईवान विरुद्ध १-३-ले हारको सामना गर्नु परेको थियो।