कलाकारहरूले सरकारलाई साथमा लिएर हिँडे गणतव्यमा पुग्नेछन्: मुख्यमन्त्री तामाङ
गान्तोक: राजधानीस्थित मनन केन्द्रमा आयोजित दुई दिवसीय सिक्किम कलाकार भरोसा सम्मेलनको आज समापन भयो। हिजोदेखि शुरू भएको दुई दिवसीय सो कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा रहेका थिए भने उनको साथमा उनकी धर्मपत्नी कृष्ण राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने आठ जनालाई लाइफ टाइम एचिभमेन्ट पुरस्कारले सम्मानित जनाइयो,जसमा काजी सिंह, जोर्दन लेप्चा, सानु लामा, शान्ति ठटाल, दावा लामा, खाण्डु वाङछेन भोटिया, एनबी प्रधान र याङछङ काजी सामेल रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेम सिंह तामाङले कलाकारहरूको योगदानलाई ध्यानमा राख्दै राजधानी गान्तोक परिसरमा कलाकार भवन र राज्यको छ वटा जिल्लामा कला भवन, संग्राहलय निर्माण गर्ने घोषणा गरे। विशेष गरेर कलाकाहरूको निम्ति राज्य सरकारले नीति निर्धारण गर्ने र आज कलाकार भरोसा सम्मेलनको आयोजक पक्षद्वारा प्रस्तुत गरिएको रिपोर्टलाई उल्लेख गर्दै यसको निम्ति सरकारले एउटा समिति गठन अवगत गराए।
सिक्किमले प्रजातन्त्र प्राप्त गरेको 48 वर्षपछि राज्यमा पहिलो पल्ट सिक्किम कलाकार भरोसा सम्मेलन आयोजना भएको र यो सिक्किमका कलाकारहरूको निम्ति ऐतिहासिक कार्यक्रम रहेको बताए। सिक्किमे कलाकार सिक्किम राज्यको निम्ति गहणा रहेको र यसको संरक्षण गर्ने जिम्मेरवारी र कर्तव्य राज्य सरकारको रहेको उनले अवगत गराए।सबै जना कलाकार बन्न नसक्ने र कलाकार हुनको निम्ति धेरै मेहनत र त्याग गर्नुपर्ने जनाए। आफू कलाकार नरहेको अनि चाहेर पनि कलाकार बन्न नसक्ने तर कलाकारहरू भने जन्माउनमा सबै प्रकारको सहयोग प्रदान गर्ने आश्वासन दिए। यस प्रकारको कार्यक्रम आयोजना गरेर कलाकारहरूले भोग्न परिरहेको समस्या र गुनासो राज्य सरकार समक्ष पुग्ने भएकोले अब कलाकाहरू एक्लै नरहेको र उनीहरूको साथमा राज्य सरकार सदैव साथमा रहने पनि मुख्यमन्त्रीले बचन दिए। सरकार भनेको समस्या उत्पन्न गर्ने नभएर समस्या समाधान गर्ने हुनुपर्छ, उनले भने। अबोप्रान्त प्रत्येक वर्षको ४ मार्चमा सिक्किम कलाकार भरोसा सम्मेलन आयोजना गरिने पनि उनले घोषणा गरे। राज्य सरकारलाई कलाकारहरूमाथि पूर्ण भरोसा रहेको र कलाकारहरूलाई पनि राज्य सरकारमाथि भरोसा र विश्वास राख्नुपर्ने आग्रह गरे। यदि कुनै पनि कलाकारहरूले केही गर्न चाहेको खण्डमा सरकार सदैव साथमा रहने र कलाकारहरूले कहिले पनि आफू एक्लो छु भन्ने भावना साथै बिचार नराख्ने आग्रह गरे। वर्तमान सरकारलाई साथमा लिएऱ हिँडेको खण्डमा कलाकारहरू गणतव्यस्थानमा पुग्न सक्न उनले ठोकुवा गरे। राज्य सरकारले प्रत्येक डान्स एकादमीलाई प्रति वर्ष सहयोगस्वरूप पाँच लाख प्रदान गर्दै आइरहेको जानकारी गराउँदै सरकारले कलालाई मात्र नभएर सबै क्षेत्रमा संलग्न व्यक्ति विशेषलाई अहिलेम्म सहयोग पुऱ्याउँदै आइरहेको मुख्यमन्त्री तामाङले जानकारी गराए।









