खरसाङ: गोरामुमो तीनधारे सुकना समष्टीको सांगठनिक सभा तीनधारेस्थित वरिष्ठ नागरिक कल्याण संगठन भवनमा समष्टि अध्यक्ष जेबी गुरूङको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा समष्टिको मूल सचिव प्रमोद थापाले स्वागत वक्तव्य राख्दै सांगठनिक गतिविधिको जानकारी गराउँदै पहाडको राजनैतिक परिपेक्ष्यमा चर्चा गरेका थिए। उनले गोरामुमो राजनैतिक पार्टी भएकोले आगामी लोकसभा चुनावमा हाम्रो सहभागिता रहनेछ र यसको नीति निर्धारण पार्टीको माथिल्लो तहले तय गर्नेछन् भनी बताएका छन्।उनले हामी हरीयो झण्डा, सुवास घिसिङ अनि हाम्रो वर्तमान अध्यक्ष मन घिसिङमाथि अटूट विश्वास राख्छौं अनि पार्टीको निर्देशनलाई पालन गर्नु तयार रहनुपर्छ भनी आह्वान गरे।
सभामा सभाध्यक्ष जेबी गुरूङले आफ़्नो वक्तव्यमा भने, गोर्खाको वासस्थानको सुरक्षा कवचको घडेरी अघिबाटै स्वर्गीय सुवास घिसिङले निर्माण गरिसकेका छन्। यसलाई कुनै शक्ति, धन दौलत, राजनीतिज्ञहरूले तोड्न सक्दैनन् किनकि आजसम्म सुवास घिसिङले सम्झौता गरी ल्याएको दागोपाप व्यवस्थामा छैटौं अनुसुची गाँभ्ने जुन नीति निर्धारण गरिएको थियो आजसम्म त्यही लक्ष्यलाई लिएर वर्तमान अध्यक्ष मन घिसिङ राजनीतिदेखि माथि उठेर जाति र माटोको मुक्तिको निम्ति लागि परेका छन्। यसको ज्वलन्त उदाहरण हाम्रो देशको संविधानमा दागोपाप जिउँदै भएको हामी पाउँछौँ। यस वर्ष हाम्रो सहयोगी दल केन्द्रमा रहेको बीजेपीले मन घिसिङको गरिमालाई उच्च स्थानमा भारतको राजनीतिभित्र प्रवेश गराई बीजेपीको घटक दलको आसनमा पुराएका छन्। यो एउटा गोर्खाको निम्ति राष्ट्रिय राजनीतिमा पस्नलाई दुर्लभ बाटोलाई सहज बनाई ससम्मान बिराजमान गराएका छन्। यो गोर्खा जातिको निम्ति सम्मान हो। गोर्खाको हितको लागि केन्द्रको बीजेपी सरकाले अवश्यै स्थायी राजनैतिक समाधान र ११ जात गोष्ठीलाई जनजातिको दर्जा देशमा सञ्चालन हुन गइरहेको लोकसभा चुनाव अघि अवश्यै पुरा गर्नेछ भन्ने हामीमा सत्य विश्वास छ।’
आजको सभामा जीएनडब्लुओ समष्टि सभापति शीला प्रधान, केन्द्रीय समिति सदस्या अनिता लामा, महकुमा समिति सदस्या रन्जना मंगर, अजीत देवान, समष्टि युवा एकाईका सभापति संग्राम घतानी, कार्यकारी सभापति अमीत प्रधान, सचिव राजीव प्रधान, महकुमा सदस्य अशोक सुब्बा, दावा योञ्जन, श्याम सुब्बा, पासाङ लेप्चा अनि विभिन्न शाखाको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भनी गोरामुमो तीनधारे सुकना समष्टीको प्रचार प्रसार सचिव पूर्ण गुरुङले जानकारी दिएका छन्।










