खरसाङ: जीटीएको चिफ् एक्जीक्युटिभ अनित थापाको बाहुलीबाट तीनधारे महानदी समष्टिमा पीएचई विभागमार्फत् १४ वटा पानीको प्रोजेक्टहरूको शिलान्यास गरिएको छ। लगभग ५ करोड़ ५३ लाख बराबरको लागत खर्चमा तीनधारे महानदी समष्टिभित्र १० वटा पुरानो र ४ वटा नयाँ योजनाहरू गरेर जम्मा १४ वटा पानीको प्रोजेक्टहरूको शिलान्यास जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा अनि तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको बाहुलीबाट गरिएको छ।

तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न उक्त शिलान्यास कार्यक्रममा जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने सभाध्यक्षको रुपमा तीनधारे महानदी समष्टिको सभापति रबीन सुब्बा उपस्थित थिए। शिक्षक युवराज सुन्दासले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण पीएचई विभागको सहायक अभियन्ता सागर राईले राखेका थिए।

कार्यक्रममा पीएचई विभागको कार्यकारी अभियन्ताको मणिरत्न मंग्रातीले आफ्नो सम्बोधनमा तीनधारे महानदी समष्टिको कुन कुन ठाउँहरूमा यो पानीको प्रोजेक्ट भएको बताउँदै १४ वटामा ४ वटा नयाँ र १० वटा पुरानै रहेको बताएका छन्। उनले यो प्रोजेक्ट लगभग ५ करोड ५३ लाख बराबरको खर्चमा हुँदै गरेको बताएका छन्। कार्यक्रममा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले आफ्नो सम्बोधनमा मलाई काम गर्ने मौका दिनु हवस म काम गर्नेछु तर सिस्टममा चल्दै तर प्रत्येक बुथ कमिटीमार्फत् आईदिने अनुरोध गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले मलाई तीनधारे महानदी समष्टिले शुरुदेखि नै सघाएको छ र मैले कामको सुरु पनि तीनधारेबाट नै गरेको छु भन्दै अाज १४ वटा पानीको प्रोजेक्टको शिलान्यास भएको छ र आगामी दिनमा ५० करोड़ बराबरको लागतमा पानीको प्रोजेक्ट अझैं लिएर आउने बताएका छन्। थापाले सभासदहरूलाई सम्बर्ध्दना गर्ने विषयमा बोल्दै यो सम्बर्ध्दना भन्ने कुरा पाँच वर्षमा काम गरेर देखापछि गर्नु हवस तर काम गर्नलाई नअल्माउनु भनी बताएका छन्।