भाग- 1
गोरे बिजुवा थान सजाएर सेतो जामापगरी लाएर चिन्ता बसिरहेछ। एकजना रहस्यमय, आदरणीय, अलौकिक शक्तिका मालिक उनी गलामा ससाना घण्टी, रुद्राक्षका मालाहरू लगाएका थिए। शिरमा सेतै पगरी, पगरीमा सिउरिएका लुईंचे अनि भेङ्गुमाको प्वाँख,दुम्सिका लामाछोटा काँडाहरू सिउरिएका अनि अँध्यारोमा पनि हरियो टल्कने मोती झैं टल्कने कुनै वस्तु टाँसिएका थिए।
गोबरले लिपेको माटोको भूईंमा केराको पात ओछ्याएर त्यसमाथि केराको दाम्चा तेर्सो पारेर राखिएको जसमा अनेक फुर्के घुङरिङहरू गाडिएका। बीचमा पाँचतल्ले अनि छेउछाउमा तीन र दुई तल्ले घुङरिङ फुर्का बनाएर गाडिएका थिए। अम्लिसो अनि मुसुरे कटुस , तितेपातीलाई फुको धागोले बाँधेर सातवटा मुठा बनाइएर थानको पछिल्तिर ठडाइएका थिए। बीचमा मूल दीयो अनि छेउछेउमा ससाना दीयोहरु जलिरहेका थिए। केराको पातमाथी चामल, चामल माथी दुर्लभ ढुँगाहरू जो गोरे बिजुवाले सपनामा देखेर जमिन खनेर प्राप्त गरेको भनिन्थ्यो, पनि थियो। एक मुखे अनि दुई मुखे घुङरिङहरू दाम्चामा गाडिएका थिए। थानको बीचमा मूल दीयोको पछिल्तिर सिम्रिक दलेको त्रिशूल गाडिएका अनि लहरै वाबुक राखिएका थिए जसको मुख- मुखमा केराको पात दोबारेर हालिएको थियो। काँसाको थालमा रुद्राक्षका अन्य मालाहरू, साँपको मेरुदण्ड जोडेर बनाइएको लामो माला पनि राखिएको थियो। देख्नेहरू भन्छन् साँपको मेरुदण्डको माला समय- समयमा वास्तविक साँपमा परिणत हुन्थ्यो।
धनकुमार काका र अकलसिंग बाङाले मलाई गोरे राईको कथा सुनाउँछन्। उनीहरू यसरी सुनाउँछन् मानौं महाभारतका सञ्जय हुन् जो युद्धको सजीव वर्णन गरिरहेछन्। म अवाक छु, स्तब्ध छु। यकिन गर्नु कि नगर्नु, दोधारमा छु।
गोरे बिजुवा मन्त्रले जीउ बाँधिरहेका थिए। जीउ नबाँधे दुश्मन झाँक्री बिजुवाहरूले वाण हानेर चिन्ता असफल पार्ने मात्र होइन,ज्यानै लिएको घटनाहरू पनि भएका हुन्। जति नै टाढा किन नहोउन्, उनीहरू वाण हानाहान गर्थे। साँप, आगोको मुस्लोले आक्रमण गर्नु सामान्य कुरा थियो। उनीहरु चिन्ता बसेकै ठाउँमा परस्परमा शक्तिको जाँच गर्थे। त्यही कारणले काँसाको बटुकोमा काउलोको पात हालेर फुर्के घुङरिङले मन्तर्दै लिसो बनाइरहेका थिए। लिसोले आफ्नो सुरक्षा मात्र नभएर दुश्मनलाई पराजित गर्नु पनि मुख्य भूमिका निभाउँथ्यो।
ढोल बजाउनेहरू मद्धिम लयमा ढ्याकुटी… ढ्याक गरिरहेका थिए। गोरे बिजुवा देब्रे हातले काँसाको थाल पक्रेर दाहिने हातले मारखोरको बटारिएको सिंगले थाल बजाइरहेका थिए। त्यो सिंग पनि चिन्ता बस्दा हिमालबाट नै थानमा आइपुगेको हो भनी देख्नेहरू भन्थे।
सालधुपको सुगन्ध चारैतिर ब्याप्त छ जसले गर्दा चिन्ताथानलाई कुनै रहस्यमय मायावी शक्तिकेन्द्र झैं भान भइरहेको थियो।
बिजुवा थरररर कामे। शरीरमा लगाइएका मालाहरु सिर्लिङ… सिर्लिङ बज्न लागे।” सुक्पा धुप लगाऊ ! ” उनले भने।
एकले अर्कालाई अनि अर्काले अझ अर्कालाई सोधे। तर,अहँ! घरमा सुक्पा धुप थिएन।
थानबाट एउटा भेङ्गुमाको प्वाँख निकालेर बिजुवाले के के मन्तर्दै आँखा चिम्म गरे। लुलो प्वाँख थररर काम्दै खडा भयो अनि उडेर कतै गयो।
बिजुवा सिलीको कुनै मुन्धुममा नाचिरहेछ, ढोलेहरू पसिनै पसिना भएर ढोल बजाइरहेछन्। केहीक्षण पछि काँसाको थालमा केही थापेझैँ गरेर उभिए। हामी छक्क पऱ्यौँ कारण थालमा हिउँसरिको सुक्पाको एउटा सिङ्गो हाँगा खस्यो। थालबाट उठाउँदा हाँगाबाट तपतप पानी चुहिरहेको थियो।
अकलसिंग बाङा अनि धनकुमार काकाले यो किस्सा बताउँदा मेरो शरीरमा रहस्य अनि रोमाञ्चको कारण कम्पन भइरहेको थियो।
कथा – 2
उनीहरू सबैले देखे। खेलिरहेका मध्ये एक थिए गोरे अनि अर्का थिए सेतो जामापगरी लगाएका सानै कदका वनझाँक्री।
” हिँड हिँड! हेरिबसे रात पर्छ। सबैले सुनिराख- अहिले देखेको कुरा कसैलाई नभन्नू। हाम्रो गोरे अब जण्डा बिजुवा भएर आउनेछ।”
फेरि केहीदिन पछि घाँस काट्न गएका धनकुमार, प्रेमलालहरूले त्यसरी नै गोरेलाई भिरको टुप्पोमा खेलिरहेको देखे। त्यो भिर,जहाँ अहिलेसम्म कोही चढ्न सकेका थिएनन्।
एकदिन गाउँमा हल्ला फैलियो- तिलबहादुरले जाल हान्न गएको बेला खोलाघारीको छङछङे छाँगामुनि दुइजना साना कदका नानीहरू पौडी खेलिरहेका थिए। त्यही छाँगा माथी केही टाढामा डुब्न लागेको घामको किरणमा केश सुकाएर खोलाको डिलमा बसिरहेकी एउटी सानोडालकी आइमाई ।
तिलबहादुर भागेर एकैसासमा गाउँ पुगेछ।
जान्नेहरूले भने- पौडी खेल्नेहरू गोरे र वनझाँक्री थिए अनि केश सुकाएर बस्ने लेमलेम्मा!
चार वर्ष पछि हो गाडाङगुङ र हात्तीसूँडे पानीझरीमा गोरे फर्किएको। उ चिन्ता बस्दै मुन्धुम फलाक्दै सानो, सुनौलो रङ्गको ढ्याङरो बजाउँदै आएको थियो। उसको शरीरमा सेतो पहिरन थियो जो खुट्टासम्म लामो थियो टाउकोमा पगरी थियो जहाँ विभिन्न प्रकारका प्वाँख,दुम्सिको काँडा अनि मणि जस्तै टल्कने कुनै पदार्थ टाँसिएको थियो।
आकाशतिर फर्केर जम्लेहात गरेर आँखा चिम्लेर के के भनेपछि पानी पर्न र गाडाङगुडुङ बन्द भएथ्यो।
त्यसपछि हो, गाउँमा सह पसेको। तीनदेखि चार घोंगा मकै फल्थ्यो। जङ्गली जानवरले पाक्न नदिने मकै, चराहरूले खान नदिने धान र कोदो पहेंलपुर भइ पाक्दासम्म पनि केही नहुने। गोरे राईले मकै , कोदो, धान रोपेकै दिन बारीमा धुपौरोमा सालधुप हाल्दै भन्थे-” यो तीन कान्ला तिमीहरूको। यसमा फलेको अन्न पाकेर खान्छौ कि नपाकी खान्छौ,तिमीहरूकै इच्छा। अरु कान्लामा पस्लाऊ,याद राख्नू।”
” हामीलाई थाहा छ, जङ्गली जानवर र चरा- चुरुङ्गी आफ्नो भाग खान्थे।अरु कान्लामा पसेर कहिले बिझाँई गर्दैन थिए।” प्रेमलाल पुसैं र अक्कले काका भन्थे।
धने मामा, दावा काका, सहलसिङ बाङा अनि पुलामी जेठा। उनीहरू आफुले देखेका र सुनेका कुराहरू सुनाइरहेका छन्। म लेखिरहेको छु। अब म पछि आउने सन्ततिले शायदै विस्वास गर्लान्। हराएर जानेछन् हाम्रा समृद्ध लोककथाहरू ! कुनै समयका सत्य कुराहरू, अहिले मिथक बनेका वनझाँक्री, लेमलेम्मा अनि बिजुवाका कुरा उडन्ते स्वैरकल्पना बनेर जालान्!
मारसिङ संग चिन्तामा वाण हानाहान गरेको दिन थानको छेउमा टुक्रुक्क बसेको बाह्र वर्षको केटो बारे जान्ने जिज्ञासाले मलाई छोडेको छैन। के उ मऱ्यो?
” उ अझ एक वर्ष बाँच्यो। चिन्ता सकिएपछि बिजुवाले ‘ मैले मेरो उमेर बाट उसलाई एक वर्ष दिएको छु। सृष्टिको नियमलाई म तोड्न सक्दिनँ। याद राख्नू ! अर्को वर्ष ठीक आजकै दिन उसले संसार छोड्नेछ। यहाँ होइन,अर्को लोकमा उसले धेरै राम्रा काम गर्नु परेको छ।’
अनि ,सबैजना छक्क परे जब ठीक भनेकै दिन केटोको मृत्यु भयो।
अक्कले काकाको कुराले मेरो मनै सिरिङ्ग भयो। त्यति धेरै शक्ति ! आफ्नो उमेर दिएर पनि बचाउनसक्ने सामर्थ्य ! के बिजुवामा थिए मृत्युलाई पनि टार्न सक्ने अकल्पनीय महारत?
आँगन छ। आँगनमा बुढापाकाहरू छन्। उनीहरू सँग म छु। म सँगै सुन्नेहरु अरु पनि छन्। यी बुडाहरू, जो डाँडाका घाम भइसकेका छन्। यिनीहरू अस्ताउने साथै अस्ताउने छन् हाम्रा बिजुवा गोरे राईका कथा पनि।
माइते लिम्बुका दाजु आइते लिम्बू केही वर्ष अघि मरेको मलाई थाहा छ। उसलाई कुकुरको उमेर हालिदिएको घटना धेरैजनाले मलाई सुनाएका हुन्। के यो सम्भव छ ? कि मानिसहरूको केवल जिब्रोको मिठास?
” मेरो दाजु आइते बोल्दा बोल्दै मरेको। राम्रै मान्छे हेर्दा हेर्दै लमतन्न पऱ्यो र चिसो भयो। उसले फुस्रो आँखा पल्टायो। नाडी चल्न बन्द भयो। दुई घण्टा त्यतिकै बित्यो। घरमा रुवाबासी भयो। छर- छिमेक थुप्रिए। गोरे बिजुवा चिन्ता बस्न कहीं गएको थियो।
त्यही समय बिजुवा आइपुग्यो। उसले दाजुको छेउमा गएर हात पक्रेर हेरेपछि दाजुको उमेर सकिएको बतायो।
आमा- बाबुले बिजुवाको खुट्टा पक्रे। छोड्दै छोडेनन्। जसरी भए पनि दाजुलाई बचाइदिनु भन्दै बिन्ती गरे।
‘ अनि. अनि के भो त्यसपछि ?” मैले सोधेँ ।
” त्यसपछि उनी चुपो लागे। के के बर्बराए। आँखा चिम्म गरे। भरै भरै आँखा खोलेर आँगनमा सुतिरहेको कुकुर तिर हेर्दै सोधे-” त्यो कुकरको रहल उमेर हालिदिऊँ ? “
” छक्क पर्ने कुरा थियो।मान्छेलाई कुकुरको उमेर ! के यो सम्भव छ? हामी सोचिरहेथ्यौं तर आमा- बाबुले जसरी हुन्छ दाजुलाई बचाइदिने बिन्ती गर्दै खुट्टा पक्रे।
” त्यो कुकुर जति वर्ष बाँच्छ आइते त्यति वर्ष मात्र बाँच्नेछ। मैले यो काम गर्नु हुँदैनथ्यो। तर के गर्नु, जवान छोराको जिन्दगीको कुरा छ।”
त्यसपछि… मैले मेरो जीवनको कहिले नबिर्सिने घटना देख्न पाएँ।पर सुतिरहेको कुकुर लमतन्न परयो,यता मेरो दाजु जुरुक्क उठ्यो।कसैले केही भन्न सकिरहेका थिएनन्।
कथा – ३
कसैले केही भन्न सकिरहेका थिएनन्। विस्वासै लागिरहेको थिएन। रुवाबासी भइरहेको घरमा खुसियाली आइसकेको थियो। तर,गोरे बिजुवा भने धुरुधुरु रोइरहेका थिए।
” लमतन्न परेको कुकुरको छेउमा उसका आमा आइसकेको हामीले देख्यौं।चित्कार गर्दै मार्मिक आवाज निकालेर मरेको छोरालाई चाटिरहेकी थिई। माऊ कुकुरको अवस्था देखेर बिजुवाले आँखाभरि आँसु पारेर सबैले सुन्नेगरी भन्यो-” म मेरो उमेरबाट एक वर्ष यो कुकुरलाई दिन्छु। कति विधिको विधानसँग नलडुँ भन्छु, तर मन मान्दैन। मलाई मेरो गुरुले सधैँ अरुको भलो गर्ने आदेश दिएका छन्।”
गाउँका बुढाहरूले गवाही दिए।’ मैले पनि देखेको’ भन्दै गुमाने बाङा,कर्णे काकाहरूले पनि सही थापे। गुमाने बाङाले कुरा थपे-” कुकुर आङ तन्काउँदै उठेर आमासँग लुटपुटियो।बिजुवाले त्यसपछि फर्मान सुनाए-” याद राख्नू! यो कुकुरलाई छोरा जस्तै गरेर राख्नू!”
भनिन्छ- गोरे बिजुवाले चाहेको भए आफ्नो इच्छानुसार जति चाह्यो बाँच्ने थिए। तर उनी आफ्ना उमेर बाँट्थे। मानिस मात्र नभएर पशु- प्राणी, चराचुरुङ्गीलाई पनि उमेर बाँट्थे। शिकारीहरूले सधैं सिकार गरेर मृगहरु मार्दा उनीहरूलाई तर्साउन बाघ बनेको कुरा पनि बुढाहरूले मलाई भनेका थिए।
” के गर्नू मारेर खाइहालेछन्! नत्र त म जिउँदो बनाइदिन्थें।अब केही दिनलाई म त्यसको आमा भइदिनु पऱ्यो।” बिजुवा भन्थे। अनि त केही समयको निम्ति उनी अन्तर्ध्यान हुन्थे।
भनिन्छ ,गोरे बिजुवामा उड्ने शक्ति पनि थियो। कहीं जाँदा मानिसहरूले उनलाई एउटा डाँडामा देखे एकैछिनमा अर्को डाँडामा देख्थे।
गाउँमा गोरे बिजुवा हुनु भनेको सहकाल आउनु थियो। अतिवृष्टि र अनावृष्टि बाट जोगिनु थियो। कतिपय समयमा मरिसकेकाहरूलाई जीवनदान पनि दिने भएकोले भाग्य लेख्ने भावी पनि थिए। उनी गाउँका मानिसहरूका निम्ति अर्का एक भगवान पनि थिए।
“उमेर बाँट्दा बाँट्दा उनी एकसय एक वर्ष बाँचेका थिए। आफ्नो मृत्युको दिन ,समय उनले अगावै बताएका थिए। उनले गाउँका सबैलाई बारीको सबैभन्दा तल्लो कान्लामा कटेरा बनाउन लाएका थिए। उनको हुकुम थियो कि कटेरोमा सरेपछि कोही नआउन्। जब बाघ गर्जेको, मृग कराएको अनि चराहरु उडेको देखिन्छ तब मलाई जहाँ जानू थियो त्यहीं गएको सम्झनू अनि नखोज्नू।” जेठा पुलामीले भने।
जब उनी ओछ्यान परे, भनिन्छ ,जङ्गली जानवरहरू साँझ पर्नसाथ उनको घर आउँथे। कोहि सिकुवामा बसिरहेका देखिन्थे त कोही ओछ्यानमा लुटुपुटु गरिरहेका हुन्थे। अनि,जानवर माथी चढेर सधैं एउटा सानो कदको सेतो जामा पगरी लाउने पुरुष पनि आउँथ्यो।
एकपल्ट कसैले ‘ तिमी त जति चाहे पनि बाँच्न सक्छौ। अरुको उमेर बढाउन सक्नेले आफ्नो उमेर झन जति चाह्यो बढाउन सक्ने भन्दा” म आफ्नो लागि केही गर्न सक्दिनँ । बारम्बार प्रकृतिको विरोध गर्दा सृष्टि खज्मजिन्छ। अरुलाई बाँट्न हो भने म हजार दुई हजार बाँच्न पनि सक्छु।”
एकदिन बिहानै गाउँकाहरूले आकाशभरि चरा उडेको देखे। तल्लो कान्लामा गोरे राईका माता- पिताको चिहान माथी बसेर बाघहरू कराएको सुनेपछि घर गएर हेर्दा घर रित्तो देखे। पलङ्गमा उसको सामा सरजाम फैलिएको थियो। सबै कुरा ठीक देखिएता पनि सुनौलो ढ्याङरो र पगरीमा लाएको मोती झैं टल्कने वस्तु भने कहीं थिएन।
गाउँलेहरुले विस्वास गरे- वनझाँक्रीले आफ्नो सामान संगै प्रिय गोरेलाई पनि लिएर गए।
म घुमिरहन्छु खोला,खोल्सा छाँगो र छहारी। तर, अहँ,कतै भेटिनँ साधारण मानिसलाई लगेर महामानव बनाउने वनझाँक्रीहरू! कतै भेटिए सोध्नेथिएँ- अब जबकि मानवता सायद आफ्नो अन्तिम श्वास फेरिरहेको छ। जब तिम्रो सबैभन्दा धेरै खाँचो छ तब तिमी कहाँ छौ? हेर्नू,यो संसार धनी गरीब,कालो गोरो,स्त्री पुरुष,बजार बस्ती,विकसित विकासशील माझ विभाजित भएर मानवता अन्तिम निश्वास फेरिरहेको समय कति असल हुनेथियो तिमी जस्ता महामानवको अस्तित्व यो संसारमा अझ पनि रहेको भए!