सिक्किम: केएन राईमाथि आक्रमण गर्ने छ जना पक्राउ

IMG-20240302-WA0212.jpg

मल्ली: सिक्किम विधानसभाका पूर्व अध्यक्ष एवम वरिष्ठ राजनैतिज्ञ केएन राईमाथि हिजो मल्लीमा कुटपिट भएको मामिलाबारे पुलिसले ६ जना आरोपीलाई पक्राउ गरिसकेको छ भने एकजना आरोपीको खोजी अभियान जारी रहेको छ। नाम्ची जिल्लाका पुलिस अधीक्षक डा. छिरिङ नामग्याल ग्याछोले आज घटनाबारे पत्रकार सम्मेलन डाकेर पक्रा परेका ६ आरोपीको परिचय लक्ष्मण राई, अवन तामाङ, जितेन राई, डेविड राई, सरोज थापा अनि किरण तामाङ रहेको जानकारी गराएका छन्।

पुलिस अधीक्षकले जानकारी गराएअनुसार, एसडीएफ कार्यकर्ता डा. शिव प्रसाद तिम्सिनाले यस क्रूर आक्रमणको उल्लेख गर्दा प्राथमिकी दर्ता गरेका थिए। आरोपीहरू एसके ०१ जेड ००१० नम्बरधारी सेतो रङ्गको जाइलो गाड़ीमा आएर पार्टीका वरिष्ठ उपाध्यक्ष केएन राई लगायतलाई कुटपिट गरी फरार भएको प्राथमिकीमा उल्लेख गरिएको छ। घटनाबारे प्राथमिकी प्राप्त भएपछि पुलिस अधीक्षक डा. छिरिङ नामग्याल ग्याछो स्वयं यसबारे पहल गर्दै तत्काल मल्ली पुलिस थाना पुगेका थिए। भ्रमणका क्रममा उनले सरोकारवाला पार्टीका नेताहरुसँग भेटघाट गरेका थिए। त्यसपछि आरोपीहरूको खोजीका लागि दुई टोली गठन गरिएको थियो। कुबिण्डे जङ्गल, मेल्लीडाँड़ा क्षेत्र, त्रिवेणी क्षेत्र लगायतका क्षेत्रमा खोजी गर्न थप टोली पठाइएको थियो। भारतीय दण्ड संहिताका विभिन्न धाराहरू प्रयोग गर्दै मल्ली पुलिस थानामा प्राथमिकी दर्ता गरियो। राति लगभग १०:३० बजीतिर रौचिरा खोजी अभियान शुरु गरिएपछि कुबिण्डे जंगलबाट लक्ष्मण राई, जितेन राई अनि डेविड राईलाई पुलिसले पक्राउ गरेको थियो भने एक अन्य टोलीले मध्यरातपछि बिहान लगभग २ बजीतिर मल्ली गुम्बा क्षेत्रबाट अवन तामाङलाई पक्राउ गरेको थियो। यसरी नै अर्को अभियानमा दुई आरोपी किरण तामाङ अनि सरोज थापालाई त्रिवेणी जंगलबाट आज बिहान ६ बजीतिर पक्राउ गरेको छ। उनीहरू सबै आरोपीविरुद्ध धारा ३०७(हत्याको प्रयास), ३४१(गलत तरिकाले रोक्नु), ३२४(खतरनाक हतियारद्वारा गम्भीर क्षति पुऱ्याउनु), ४२७(क्षति पुऱ्याउने दुराचार) अनि ३४(साझा नियतलाई अगाडि बढाउन धेरै व्यक्तिले गरेको कार्य) अन्तर्गत मामिला दर्ता गरी थप कानुनी प्रक्रिया अघि बढ़ाइरहेको पुलिस अधीक्षक डा. ग्याछोले जानकारी गराएका छन्। यस घटनाबारे प्राथमिकी दर्ता हुनसाथै पुलिसले तत्काल कार्वाही अघि बढ़ाइएको पुलिस अधीक्षकले जानकारी गराएका छन्। जोरथाङका विभिन्न अधिकारी र पुलिसको सहयोगमा सातौं निखोज रहेका आरोपीको पूर्ण दृढ़ता र समन्वयका साथ खोजी अभियान तीव्र गरिएको छ। पक्रा परेका सबै आरोपी मल्ली क्षेत्रका रहेको पुलिसले बताएको छ। निर्मम आक्रमण पछिको उद्देश्य के हो भन्नेबारे जाँच कार्य जारी रहेको पुलिसले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement