झापा गोल्ड कप शुरु, उद्घाटन खेलमा एपीएफ विजयी

Photo-2-1

बिर्तामोड (नेपाल): टाइब्रेकरमा भाग्यमानी साबित हुँदै एपीएफ छैटौं संस्करणको झापा गोल्ड कपको उद्घाटन खेलमा विजयी भएको छ। संकटा क्लब काठमाडौंलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपीएफले क्वाटरफाइनलको यात्रा तय गरेको हो। एपीएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदीप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए। संकटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले मात्र जाली चुमेको थियो। संकटाका अजित लामाको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार गोलपोस्टमा लागेर फर्कियो। 

खेलको चौथो मिनेटमै एपीएफले अग्रता लिने अवसर गुमाएको थियो। फोडे फोफोनाको क्रसमा पेनाल्टी एरियामा अनमार्क रहेका बुद्धिमान राईले गोल गर्न सकेनन्। उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो। १३औं मिनेटमा १८ यार्डबाट अनिस महर्जनको प्रहार आकासियो। २० मिनेटमा अनिसकै प्रहार गोलरक्षकले विफल बनाए। २४औं मिनेटमा कुलदीप कार्कीको पासमा गोलपोष्ट नजिकै रहेका अनिसको हेडर बाहिरियो।

५५औं मिनेटमा एपीएफका अनिस रानाले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार संकटाका गोलरक्षक निशान रानाले पञ्च गरेर बचाए। ७६औं मिनेटमा एपीएफका प्रदीप लामाको प्रहार बारको केही नजिकबाट बाहिरियो। अतिरिक्त समयमा दीपेश धिमालले मैदानको मध्यभागबाट गरेको कडा प्रहार संकटाका गोलरक्षकले मुस्किलले पञ्च गरेर बचाए। खेल अवधिभर थुप्रै अवसर बनाएको एपीएफले निर्धारित समयमा गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरमा गएको थियो।

३४औं मिनेटमा संकटाका चन्दन दासले गरेको शक्तिशाली प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए। ६०औं मिनेटमा संकटाका कप्तान गणेश हमालको हेडर एपीएफका गोलरक्षकले बचाए। खेलको म्यान अफ द म्याच एपीएफका गोलरक्षक एञ्ञ्जल श्रेष्ठ घोषित भए। उनले ११ हजार रुपियाँ पुरस्कार पाए। प्रतियोगिताको विजेताले नगद १३ लाख, उपविजेताले ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्। आइतबारको खेल नेपाल पुलिस क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड काठमाडौंबीच हुने तालिका छ। शनिबारदेखि शुरु भएको प्रतियोगिताको फाइनल खेल  ११ मार्च (फागुन २८ गते) हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *