नयाँ दिल्ली: क्रिकेटरबाट कमेण्टेटर बन्ने आकाश चोपड़ाले गत वर्ष वनडे वर्ल्ड कपपछि इण्टरनेशनल क्रिकेट नखेले पनि हार्दिक पाण्ड्यालाई ग्रेड ए श्रेणीको वार्षिक अनुबन्ध सुम्पिने भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-को समर्थन गरेका छन्। बीसीसीआई-ले बुधवार २०२३-२४-को निम्ति खेलाड़ीहरूका वार्षिक केन्द्रीय अनुबन्ध सूची जारी गऱ्यो। सूचीमा ३० जना खेलाड़ीलाई सामेल गरिएको छ। बोर्डको अनुरोधपछि पनि घरेलु क्रिकेट नखेल्दा श्रेयस अय्यर र ईशान किशनलाई चाहिँ अनुबन्ध सूचीबाट बाहिर राखियो जबकि हार्दिकलाई चाहिँ ग्रेड ए श्रेणीमा राखियो। अक्टोबरमा आईसीसी वनडे वर्ल्ड कपमा बंग्लादेश विरुद्ध म्याचको अवधि हार्दिकको खुट्टामा चोट लागेको थियो। त्यस समयदेखि भारतका स्टार अलराउण्डर इण्टरनेशनल क्रिकेटबाट बाहिर रहेका छन्। यसपाली बोर्डले अनुबन्ध सूची जारी गरेपछि धेरैले पाण्ड्याको ए ग्रेड श्रेणीमा स्थानलाई लिएर प्रश्न पनि उठाएका छन्।
यस मामिलामा चोपड़ाले चाहिँ बीसीसीआई-को फसेलाको समर्थन गरेका छन्। चोपड़ाको भनाइअनुसार, प्रथम श्रेणीको क्रिकेट खेलेनन् भनेर हार्दिकलाई दण्डित गर्न सकिँदैन कारण उनी टेस्ट टीममा स्थानको निम्ति प्रतिस्पर्धा गरिरहेका छैनन्। उनले भने, हार्दिक पाण्ड्याको मामिला सरल छ। कसैले गल्ती नै नगरे शास्ती किन दिने ? उनले रातो बलको क्रिकेट खेलिरहेका छैनन्। त्यो महत्वाकांक्षा या आकांक्षा अब अस्तित्वमा छैन। उनले धेरै अघि नै आफूलाई टेस्ट म्याचहरूका निम्ति अनुपलब्ध बताइसकेका छन् अनि यही नै सत्य हो। यसैकारण तपाईं टेस्ट म्याचहरूका निम्ति उपलब्ध नै रहनु भएको छैन भने कसैले पनि प्रथम श्रेणीको क्रिकेट खेल्न वाध्य गर्न सक्दैनन्। शरीरमा धेरै ओभर बलिंग गर्ने ताकत नै नरहे अनि चोटको समस्या भए तपाईंले किन चार दिने क्रिकेट खेल्ने ? यो कुरा एकदमै सरल छ।
लामो समयदेखि घरेलु र इण्टरनेशनल क्रिकेट नखेल्ने हार्दिकको तुलना ईशान र श्रेयससँग गर्न नसकिने बताउँदै चोपड़ाले भने, हामीले हार्दिकको तुलना ईशान किशन र श्रेयस अय्यरसँग गर्न सक्दैनौ। धेरैले हार्दिकले सीमित ओभरहरूका घरेलु क्रिकेट नखेलेको तर्क राखेका छन् तर हामीले एउटा कुरा बुझ्नु पर्छ। हार्दिकलाई वर्ल्ड कपको अवधि चोट लागेको थियो, जुन अक्टोबर-नोभेम्बरमा थियो। यसरी सैयद मुश्ताक अली ट्रफी अक्टोबर-नोभेम्बरमा समाप्त भएको थियो। हार्दिक त्यस समय वर्ल्ड कपको टीममा थिए। बड़ौदाले विजय हजारे ट्रफीमा अन्तिम म्याच ५ दिसम्बरमा खेलेको थियो अनि त्यस म्याचको निम्ति हार्दिक फिट र उपलब्ध थिएनन्। उनले कुनै पनि स्थानमा अभ्यास नगरेर एनसीए-मा उपचार गराइरहेका थिए। उल्लेखनीय छ, हार्दिक पाण्ड्या डीवाई पाटिल टी२० कपको माध्यमले प्रतिस्पर्धी क्रिकेटमा फर्किसकेका छन्।