वीरेन्द्र ढकाल, नाग्रिजुली, तामुलपुर
दिनहुँ ओहोरदोहोर गर्ने बाटो। साप्ताहिक बजार लाग्छ। प्रत्येक शनिबार र मङ्गलबार। कुरा मङ्गलबारको हो। बजारमा हजार प्रकारका मानिस छन्। गाउँबस्तीको बजार न हो, आ-आफ्नो खेतको फसल र सागसब्जीको पसल थाप्नेहरू नै बढी छन्। औँसीको दिन थियो। नियम बार्नेहरूले यो दिन केही कुराको महत्व राख्छन्। यो खान हुने, त्यो नहुने इत्यादि-आदि। वर्षा याम। घरी झ्यार्र झरी, घरी चर्कने घाम। झरी परेर रोकिएको आजै हो। खेतमा कृषकहरू व्यस्त छन्। मानो खाएर मुरी उब्जाउने प्रण छ किसानहरूको। बिहान घाम झुल्कने पूर्व र बेलुकी घाम अस्ताएपछि पनि धेरैबेरसम्म हिलो र पानीमा तिनीहरू गह्रा गह्रामा रमाउँछन्। मानौँ यो एउटा रमाइलो पर्व, महान चाड हो।
गाउँबस्तीको परिवेश हो। घर वरिपरि बुट्टे रुखदेखि लिएर ठुलाठुला वृक्षहरू छन्। नानाथरीका बाँसघारी जताततै। चरा चुरुङ्गीको आवाज बाँसघारीको गुँडबाट स्पष्ट सुनिन्छ। यस्तै बजारको गुनुनु…नु शब्द झैँ। बुझ्न केही पाइँदैन। केवल शब्द…. विभिन्न थरीका। खेतबाट निक्लदै अबेर भएको, त्यसमा भएन एउटाले सापटी फर्काउने भाका राखेर आज फर्काउने दिन थियो। पर्खदा पर्खदै झमक्कै साँझ पर्यो। सप्ताह दिनसम्मको बजार गर्नु छ। ढिलै भए पनि मैले पर्खेको मानिस अँध्यारोमा झुल्कियो। खुट्टा सिधा थिएनन्। के के भन्दै थियो- ‘धेरै दिनपछि साथीहरूसँग भेट भएको… तान्दा तान्दै धेरै भएछ, नरिसाऊ है, लेऊ पैसाl’
के बोल्नु म! एक्लो बसेँ। यो संसारमा म र संसारबाहेक अरू केही छ जस्तो लाग्दैन। यसको कुरालाई पर पन्छाउँदै केही नबोली म साइकल चढेँ। यति ढिलो हुन्छ भन्ने थाहा थिएन। पानी दर्कन लाग्यो। सौदाको झोला साइकलको हेन्डिलमा झुड्याएको छु। घर फर्कँदैछु। हतार पनि त छ नि! अगाडिपटि ठूलो बाँसघारी छ। फेरि भएन निस्पट अँध्यारो। ‘दिनहुँ हिँड्ने बाटो। अन्दाजले पनि पुगिहाल्छु नि!’ सोच्दैछु,अघि बढ्दैछु। कसैकसैलाई पानीले केही असर गरेको छैन। बियाडे बिउको हिलो खुट्टामा बजार्दैछन्। पाकेको हिलोको चोक्टा छप्ल्याङ्ग पानीमा झरेको सुनिरहेछु। भ्यागुताको आन्दोलन चलेको छ खेतमा। काँचो बाटो। केही शङ्का छैन मनमा। हठात् हिलो र चिप्लोमा साइकलको चक्का चिप्लियो। म हिलोमा लढेँ। सौदाको मतलब छ मलाई। छेउमा गहिरो पोखरी छ। ‘धन्न यो पोखरीमा परिनछु!’ भन्दै उठ्न लागेको थिएँ पोखरीबाट भर्खरै जन्मेको नानी रोएको आवाज आयो। मलाई त्यतिखेर सौदाको होस् आएन। आङ्ग जिरिङ्ग भयो। हातका रौँ ठाडा भए। यताउता हेरेँ। भ्यागुताको ट्वार्र ट्वार्र उस्तै छ। सिमसिमे पानी परिनै रहेको छ। बियाडेहरू देखिँदैनन् अहिले। धेरै अँध्यारो छ। छेउकै त चिनिँदैन! ‘म सौदा बचाउँ कि नानी बचाउँ भएँ। सौदा भोलि पनि पाउँछु। एक्लो ज्यान। मलाई त वरदान नै भयो नि!’ म नानीको खोजी गर्न थालेँ। पोखरीको पानी हल्लिदैँ छ, नानी डुब्दैछ, पानी खाँदैछ, रुवाइ त्यस्तै छ। उज्यालो थियो भने यस्तो आपद पर्ने थिएन। हेर त! मर्नै लाग्यो!” भन्दै पोखरीको बिल्कुलै छेउ पुगेँ। त्यतिखेरै धनबीरे काका छेउमै आइपुग्दा पो झसङ्ग भएँ।
‘काका कस्तो केही नबोली आउनुभाको? झन्नै सातो गएन!’ मैले आत्तिँदै भनेँ।
‘ए, गहिरी खेतमा पानी लगाउन गएको थिएँ’ भन्दै काँधबाट कोदालो भुइँमा राखे उनले।
‘अनि तँ यो अँध्यारोमा के गर्दैछस्?’ भन्दै ब्याट्रीवाला टर्च बाले। उज्यालोमा मैले आड पाएँ। सबै कुरा एकै स्वासमा भनेँ।
काकाले भने, ‘धत्, चिहानघारी फाँडेर अहिलेका मानिसहरूले घर बनाएर बसेका छन्। तँ भने के के जाति कुरा गर्छस्। यो तेरो मनको डर हो। दोछायाँलाई तैँले त्यस्तो देखिस्। लौ हिँड् छिटो जौँ। आकाश गड्याङगुडुङ गर्दैछ।अँध्यारोमा हिँड्दा उज्यालो बोकेर हिँड्नुl’
‘गाउँले भए पनि काका ‘मोडर्न’ कुरा गर्नुहुन्छ। क्या राम्रो लाग्यो काकाको कुरा……’ मेरो कुरा सुनेर काका मुसुमुसु हाँस्दै घर अगाडिको बाँसको गेट खोल्दै भित्र पस्नुहुन्छ। म साइकल डोहोर्याउँदै आफ्नो प्यारो कटेरोतर्फ लाग्छु।