सिक्किम: राज्यको शान्ति शृङ्खला र कानुन व्यवस्था कायम राख्ने जिम्मेवारी राज्य सरकारकोः सीएपी सिक्किम

FB_IMG_1709318926146.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी सिक्किमले आज (शुक्रवार) माझी गाउँ, मल्लीमा सिक्किम विधानसभाका पूर्व अध्यक्ष केएन राईमाथि भएको प्राणघातक हमलाको कडा शब्दमा निन्दा र भत्सर्ना गरेको छ।

पार्टीले यस घटनाप्रति राज्यपालको ध्यान आकर्षण पनि गराएको छ।

सिटिजन एक्सन पार्टी सिक्किमले आज जारी प्रेस विज्ञप्तिमा एकजना वरिष्ठ नागरिकको यसरी दिउँसै हत्या गर्ने अभिप्राय राख्नु सिक्किममा लोकतन्त्रको हत्या हो भनी ठहर गरेको छ। विपक्षी पार्टीहरुका नेता, कार्यकर्तामाथि दिनहुँ यसरी हमला हुनु, ज्यान र सम्पत्तिको तोडफोड हुनु सिक्किमे समाजको निम्ति चिन्ताको विषय हो भनी बताएको छ।

साथै आजसम्म घटेका घटनाहरूमा संलग्न दोषीहरु विरुद्ध कारबाही हुन नसक्नुले प्रशासनको अगाडि ठूलो प्रश्न चिन्ह खडा गरेको पनि विज्ञप्तिमा बताइएको छ। विज्ञप्तिमा अझ भनिएको छ, देशको संविधान अनुसार राज्यको शान्ति शृङ्खला र कानुन व्यवस्था कायम राख्ने जिम्मेवारी राज्य सरकारको हो। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले शान्ति शृङ्खला बचाउन र जनताको ज्यानमालको सुरक्षा गर्न सिक्किमका राज्यपालको ध्यानाकर्षण गर्दै निष्पक्षरूपमा दोषीहरुमाथि कार्वाही होस् भनी माग गरेको छ।

उल्लेखनीय छ, एसडीएफ पार्टीका वरिष्ठ नेता एवं सिक्किम विधानसभाका पूर्व अध्यक्ष केएन राई लगायत एसडीएफ पार्टीका नेताहरूमाथि आज माझी गाउॅं, मल्लीमा हमला भएको छ। हमलाको विरोधमा मल्ली थानामा एफआईआर दर्ता गरिएको छ।

About Author

Advertisement