उज्ज्वल भारत उज्ज्वल भविष्य बिजुली उत्सवको समापन

गान्तोक। आजादीको अमृत महोत्सवअन्तर्गत स्वाधीन भारतको ७५औं वर्षगाँठ पालन गर्न केन्द्रिय विद्युत तथा नवीन एवं नवीकरणीय ऊर्जा मन्त्रालयद्वारा देशव्यापी प्रत्येक जिल्लामा उज्ज्वल भारत उज्ज्वल भविष्य – विद्युत@२०४७ को छातामुनि आयोजित बिजुली महोत्सवको हिजो समापन भयो। यस अवधि बिजुली महोत्सवको माध्यमद्वारा विगत आठ वर्षको अवधिमा विद्युत क्षेत्रमा हासिल गरिएका उपलब्धिहरूबारे जनमानसलाई विविध माध्यमद्वारा अवगत गराउने प्रयास गरियो।

देशव्यापी रूपमा गत २५ जुलाईदेखि शुरु गरिएको बिजुली महोत्सवको क्रममा जिल्ला प्रशासनहरूका सहयोगमा १५ सयभन्दा धेरै कार्यक्रम आयोजन गरियो, जहाँ केन्द्रिय मन्त्री, सांसद, विधायकहरूका साथमा राज्यका मन्त्री अनि प्रतिष्ठित व्यक्तित्त्वहरूले धेरै सङ्ख्यामा सहभागिता जनाए।

बिजुली महोत्सवको समापन ३० जुलाईको दिन सम्पन्न भयो। राष्ट्रिय स्तरको कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि परोक्ष रूपमा सहभागिता जनाउँदै देशको एक सयभन्दा धेरै जिल्लाका लाभार्थी अनि प्रतिभागीहरूसँग संवाद गरे। भारत सरकारद्वारा विद्युत क्षेत्र अन्तर्गत प्रदान गरिएको विभिन्न लाभका लाभार्थीहरूसँग पनि उनले संवाद गरे।

समापन कार्यक्रम नाम्ची सरकारी कन्या वरिष्ठ उच्चतर स्कूलमा आयोजन गरिएको थियो। यस अवसरमा विधायक तथा विद्युत विभागका सल्लाहकार पिन्छो नामग्याल लेप्चा मुख्य अतिथिका रूपमा उपस्थित थिए। यसै गरी विद्युत विभागका सचिव एवं मुख्य अभियन्ता गणेश छेत्री, एनएचपीसीका कार्यकारी निर्देशक एसपी मुखर्जी, सीपीएसईका राज्य शार्ष अधिकारी, जिल्लापाल, विद्युत विभागका वरिष्ठ अधिकारीगण, एनएचपीसी अनि बीईईका जिल्ला शीर्ष अधिकारीहरूका अतिरिक्त केन्द्रिय योजनाका लाभार्थीहरू पनि यस अवसरमा उपस्थित थिए।

प्रधानमन्त्रीद्वारा छानामाथि लगाउने सौर ऊर्जा उपकरणको निम्ति राष्ट्रिय पोर्टल पनि शुभारम्भ गरियो, जसले छानामाथि सौर ऊर्जा संयन्त्र जडान गर्नका लागि आवेदनको पञ्जीकरणदेखि लिएर सौर ऊर्जा संयन्त्रको स्थापना अनि निरीक्षणपछि आवासीय लाभार्थी वा ग्राहकको ब्याङ्क खातामा सहायता राशि जारी गर्ने प्रक्रियाको प्रगतिमाथि अनलाइन नजर राख्न सहयोग गर्नेछ। यस योजनाको माध्यमद्वारा ४ हजार मेगावाट विद्युत उत्पादन हुने अनुमान लगाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *