गान्तोक: खेलो इन्डिया विश्वविद्यालय अष्टलक्ष्मी खेलकुद २०२३ को समापन आज मुख्यमन्त्री प्रेमसिंह तामाङको आतिथ्यमा पाल्जोर स्टेडियममा भयो। कार्यक्रममा खेलकुद तथा युवा मामिला विभागीय मन्त्री साम्डुप लेप्चा, कृषि तथा बागवानी विभाग मन्त्री एलएन शर्मा, खेलकुद तथा युवा मामिला सल्लाहकार मेगनाथ सुब्बा, खादी बोर्डका अध्यक्ष छुङछुङ भोटिया लगायत अन्य अधिकारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रम युवा मामिला तथा खेलकुद मन्त्रालय अन्तर्गत भारतीय खेलकुद प्राधिकरणद्वारा प्रायोजित र सिक्किम केन्द्रीय विश्वविद्यालयको सहयोगमा सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागले आयोजना भएको थियो। मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा स्वस्थ जीवनशैलीको प्रवर्द्धन र युवा प्रतिभाको विकासका लागि खेलकुदको महत्वलाई जोड दिए। उनले तल्लो तहमा खेलकुदलाई सहयोग गर्ने सरकारको प्रतिबद्धतालाई प्रकाश पारे। मुख्यमन्त्रीले खेलो इन्डिया बक्सिङ खेलको फाइनलमा पुग्नका लागि कडा मेहनत र लगनशीलताको कदर गर्दै सहभागी खेलाडीहरूलाई बधाई र प्रोत्साहन पनि दिए। उनले राज्यभर खेलकुद पूर्वाधारमा लगानी गर्ने राज्य सरकारको योजनालाई दोहोर्याए, उदीयमान खेलाडीहरूले आफ्नो सीप बढाउन विश्व-स्तरीय सुविधाहरूमा पहुँच सुनिश्चित गर्न प्रेरित गरे। मुख्यमन्त्रीले खेलो इन्डिया बक्सिङ खेललाई सफल बनाउन सहयोग गर्ने प्रशिक्षक, अधिकारी र आयोजकहरूको प्रशंसा गरे। यसअघि खेलकुद तथा युवा मामिला सचिव राजु बस्नेतले स्वागत मन्तब्य राखेका थिए भने खेलो इण्डिया युनिभर्सिटी गेम्सको प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी भारतीय बक्सिङ महासंघका प्राविधिक प्रतिनिधि राजन शर्माले खेलो इन्डिया विश्वविद्यालय अष्टलक्ष्मी खेलकुद २०२३ को प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए। आजको फाइनलमा, विभिन्न तौल विधामा छ वटा बाउटहरू सामेल थिए।