सिक्किम: गरीबहरूको उम्मीद जहॉं खत्म हुन्छ, त्यहॉंबाट गोलेको ग्यारन्टी शुरू हुन्छः मुख्यमन्त्री तामाङ

n587585984170922409278021a27197cc5ee371fddbfd01e148f4bbf149c0c52f0be7913dc217ca30fbf49c.jpg

गान्तोक: ‘आज नोकरीमा नियुक्ति पाउनेहरू जति खुशी छन्, उनीहरू भन्दा धेरै खुशी म छु। किनकि राज्य सरकारको तर्फबाट गरीबहरूको घरमा खुशी छाउने काम भएको छ।’ उक्त कुरा मुख्यमन्त्री प्रेमसिंह तामाङले आज  रम्फू खेल मैदानमा आयोजित युवा भरोसा सम्मेलनलाई सम्बोधन गर्दै भनेका हुन्।

युवा भरोसा सम्मेलनमा आज मुख्यमन्त्री तामाङको बाहुलीद्वारा ११,००० जनालाई अस्थायी नियुक्ति आदेश तथा चार वर्षको कार्यकाल पूरा गर्ने कर्मचारीहरूलाई स्थायी नियुक्ति ज्ञापन वितरण शुरू गरिएको छ।

मुख्यमन्त्रीले आफ्नो सम्बोधनको क्रममा यदि कतिपय कारणवश आज सबैलाई नियुक्ति पत्र वितरण गर्न सकिएन भने आगामी ७ मार्चसम्ममा सबै जनालाई नियुक्ति पत्र वितरण गरिने बताए। उनले यदि कसैको नाम छोडिएको छ भने पनि उनीहरूलाई निश्चित रूपमा नियुक्त गरिने भरोसा दिलाए।

उनले सबैलाई ढुक्क भएर बस्न आह्वान गर्दै भने, ‘गरीबहरूको उम्मीद जहॉं खत्म हुन्छ, त्यहॉंबाट गोलेको ग्यारन्टी शुरू हुन्छ।’ उनले आगामी ७ मार्चको दिन रम्फूमै ‘युवा भरोसा सम्मेलन- २’ आयोजना गर्ने घोषणा गर्दै छुटिएका युवाहरू सबैलाई उक्त दिन नियुक्त आदेश वितरण गर्ने जानकारी गराए।

मुख्यमन्त्री तामाङले आज आफु सबैभन्दा खुशी व्यक्ति रहेको बताउॅंदै आफुले जेल जीवन बिताउॅंदा परिकल्पना गरेका सोचहरूलाई कार्य रूपमा उतार्न पाइरहेकोमा सन्तुष्टि व्यक्त गरे। उनले एक वर्ष (१० अगस्त, २०१७ देखि १० अगस्त २०१८) जेलमा बिताउॅंदा यदि सिक्किमे जनताको आशीर्वाद पाएॅं गरीबहरूको सेवा गर्नेछु भनेर आफुले धेरै जनकल्याणका योजनाहरू परिकल्पना गरेको जानकारी गराए।

उनी जेलमा छॅंदा आफुमाथि आइलागेका कुराहरूको सम्झाना गर्दै निकै भावुक पनि बनेका थिए। यद्यपि, त्यस समय आफुले परिकल्पना गरेका योजनाहरूलाई नीतिमा परिणत गरेर कार्यान्वयन गरिरहेकोमा उनले खुशी व्यक्त गरे। उनले आज ३२ वर्षसम्म अस्थायी कर्मचारीका रूपमा सेवा पुऱ्याउनेहरूलाई स्थायीकरण गरेर न्याय दिने काम भएको बताए।

पूर्व सरकारमा यदि यस्तो नीति भएको भए अन्यायमा परेका यी कर्मचारीहरू पहिले नै स्थायी बन्ने थिए भनी उनले बताए। तर, पूर्व सरकार १९९४ मा सत्तामा आएपछि एकैचोटी २०१४ मा चुनाउलाई ध्यानमा राखेर कर्मचारीहरूलाई रेगुलर गरेको उनले आरोप लगाए।

मुख्यमन्त्री तामाङले युवा भरोसा सम्मेलन अन्तर्गत केवल गैर राजपत्रित कर्मचारीहरूलाई नियुक्त गर्ने र चार वर्षको सेवाकाल पूरा गर्ने अस्थायी कर्मचारीहरूलाई मेमोरेन्डम अफ् एपोइन्टमेन्ट वितरण शुरू गरिएको अगवत गराए। उनले राजपत्रित कर्मचारीहरूका साथै छुट्न पुगेका अन्य केही वर्गका कर्मचारीहरूलाई पनि सरकारले नीति बनाएर अवश्य समेट्ने भरोसा दिलाए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले विपक्षीहरूमाथि गरीबहरूले न्याय नपाओस् भनेर जनतालाई दिग्भ्रमित गर्ने काम गरिरहेको आरोप लगाए। उनले यसपालीको चुनाउमा विपक्षीहरूको अस्तित्व संकट होइन, तर अस्तित्व नै समाप्त हुने संकट रहेको बताए।

कार्यक्रममा स्वागत सम्बोधन राख्दै कार्मिक विभागका सचिव रिन्जिङ भोटियाले आज वितरण गरिने नियुक्ति पत्र र मेमोरेन्डम अफ् एपोइन्टमेन्टको बारेमा प्रकाश पारेका थिए। कार्मिक विभागले आयोजना गरेको आजको कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती, मन्त्रीगण, विधायकगण, मुख्यमन्त्रीका प्रेस सचिव बिकास बस्नेत, लोक सभा सांसद इन्द्रहाङ सुब्बा, विभागीय अधिकारीहरू तथा अन्य गणमान्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *