३१ जुलाईः रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल अनर कप २०२२-मा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमीले आशानुरुप सेमिफाइनलमा स्थान बनायो। रामझोड़ा टी.जी. फ्याक्ट्री लाइन मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको चौथो क्वार्टर फाइनल म्याचमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमीले तेलेपाड़ा फूटबल एकाडमीलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अभिषेक भुजेलले म्याच शुरु भएको ३० सेकेण्डमै गोल गरे। त्यसपछि बिक्की थापा र रबिन तामाङले अझ १-१ गोल गरे। यसरी नै तेलेपाड़ा एफए-बाट साहिल एक्काले २१औं मिनटमा १ गोल गरे। विजेता टीमका रबीन तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। आजको म्याचमा मदारीहाट-बीरपाड़ा कन्स्टीट्यूएन्सीका एमएलए मनोज तिग्गा उपस्थित थिए। अब २ अगस्तमा खेलिने पहिलो सेमिफाइनलमा उज्जल इलेभेन (टुक्राखास) र लंकापाड़ा मिलन समितिबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको फाइनल म्याच ७ अगस्तमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।