नयाँ दिल्ली: राष्ट्रिय टीममा नरहँदा घरेलु क्रिकेट खेलेनन् भनेर श्रेयस अय्यर र ईशान किशनलाई भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले आफ्नो वार्षिक केन्द्रीय अनुबन्धको सूचीबाट बाहिर गऱ्यो। यसबीच केवल सीमित ओभरहरूका प्रारूपमा खेले पनि राष्ट्रिय टीमबाट बाहिर हुँदा घरेलु सीमित ओभरहरूका प्रतियोगितामा हिस्सा नलिने हार्दिक पाण्ड्यालाई चाहिँ अनुबन्धको ग्रेड ए-मा कायम राखियो। बोर्डको यस्तो फसेलाले अहिले विवाद सृष्टि भएको छ। भारतका पूर्व दिग्गज अलराउण्डर इरफान पठानले पनि यस्तो फसेलामाथि आपत्ति जनाएका छन्। ईशान र अय्यर गत वर्ष क्रमशः सी र डी ग्रेडमा अनुबन्धित थिए तर यस साल दुवैले अनुबन्ध सूचीमा स्थान पाएनन्। गत वर्ष भएको वनडे वर्ल्ड कपको अवधि बंग्लादेश विरुद्ध म्याचमा चोटको शिकार बनेपछि हार्दिकले भारतको निम्ति कुनै म्याच खेलेका छैनन् तर उनलाई चाहिँ ए श्रेणीमा कायम राखिएको छ। इरफान पठानले सोशल मीडियामा लेखेका छन्, उनीहरू प्रतिभाशाली खेलाड़ी हुन्, श्रेयस र ईशान दुवै। उनीहरूले मजबूतीको साथ पुनरागमन गर्ने आशा छ। यसरी हार्दिक जस्ता खेलाड़ी रातो बलको प्रारूपमा खेल्न चाहँदैनन् भने उनी र उनी जस्ता अन्यहरूले सेतो बलको घरेलु प्रतियोगिताहरूमा खेल्नु हुँदैन र? के त्यो तपाईंको राष्ट्रिय कर्तव्य होइन ? नियम सबैमाथि लागू हुनु पर्छ। यस्तो नभए भारतले असल परिणाम हासिल गर्न सक्नेछैन। उल्लेखनीय छ, हार्दिकले सेप्टेम्बर २०१८-देखि टेस्ट क्रिकेट खेलेका छैनन्।