खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टि अन्तर्गत सिमानाटार जाने बाटोकाे निर्माण कार्यको थालनी भएकोमा जीटीए चिफ् अनित थापा अनि क्षेत्रीय सभासद श्याम शेर्पाप्रति स्थानीयहरूले धन्यवाद ज्ञापन गरेका छन्। उक्त समष्टीको सिपाहीधुरा नजिक चैतेपानीलाई जोड्दै सिमानाटार हुँदै देवराली पुग्ने बाटोको निर्माण कार्यकाे २८ नम्बर समष्टिकाे सभासद श्याम शेर्पाले विधिवत पूजा अर्चना गरी शिलान्यास गरेपछि निर्माण कार्यको थालनी पनि भएको छ।शिलान्यास कार्यक्रममा सभासद श्याम शेर्पा, पञ्चायत समिति सदस्य दिनेश तामाङ, नारी शक्ति अध्यक्षा सुष्मा मुखिया, सचिव ललिता छेत्री, निता राई, करिना सुब्बा, सिमानाटार समाजका सभापति हाेमबहादुर गुरुङ अनि पदाधिकारीगण, सिमानाटार क्षेत्रकाे प्रतिनिधिहरू संगीता राई, अनुप तामाङ, युवा शक्तिबाट विष्णु छेत्री, रुपेश देवान, महेश राई, दिपम थामी साथै अन्यको उपस्थिति रहेको थियो।कार्यक्रममा विभागबाट सह अभियन्ता पुर्णिामा छेत्री, एसएई मान्डुप तामाङ लगायत अन्यहरू उपस्थित रहेका थिए। यस बाटोकाे कार्य शुरुआत भएकोमा सम्पूर्ण गाउँवासीमा खुसीको लहर छाएको बताइएको छ। गाउँवासीकाे पक्षमा अनुप तामाङले विगतमा धेरै नेताहरु आए तर आश्वासन मात्रै दिएर भोट लुटेर गए भन्दै हामीले सांसद अनि विधायकलाई पनि भोट हालेको हौं। तर एउटा सिन्का पनि भचाएनन्। तर हाम्रो जीटीए चिफ् अनित थापा र सभासद श्याम शेर्पाले क्षेत्रमा धेरै कार्य गरिदिएको छ भनी बताए।

उनले भने, आज हामीले जुन बाटो पाउँदैछौं हाम्रो लागि गोर्खाल्याण्ड बराबर हाे। बाटो नहुँदा दुःख, बिरामीमा हामीले जुन समस्या झेल्नु परेको थियो त्यो धेरै नै कठिन थियो। यस बाटोले धेरै फाइदा हुनेछ साथै पर्यटन क्षेत्रमा पनि बढोत्तरी हुने सम्भावना छ भनी बताएका छन्। यसै जीटीए चिफ् अनित थापा, सभासद श्याम शेर्पा, क्षेत्रीय प्रतिनिधिहरु सुष्मा मुखिया, ललिता क्षेत्री, दिनेश तामाङ अन्यलाई पनि आभार प्रकट गरेका छन्।