गान्तोक: राज्यका कृषि एवं बागवाणी विभागीय मन्त्री लोकनाथ नेपालले जर्मनीको म्युनिखमा २८ जुलाईको दिन भारतीय महावाणिज्यदूत मोहित यादवसँग भेट गरे। यस भेट अवधि महावाणिज्यदूत यादवले सिक्किम राज्यमा जैविक खेती अनि पर्यटनको व्यापक सम्भावना रहेको बताए। कोरोना महामारीपछि जर्मन मानिसहरूले औषधिको विकल्पको रूपमा अधिक जैविक खाद्य लिने गरेको उनले जानकारी गराए। यसले गर्दा जर्मनीमा मसलाजन्य कुराहरूको अत्यधिक बजारको अवसर रहेको बताए। नुरिमबर्गमा आयोजन हुने दोस्रो बायोफेच संस्करणमा सिक्किमले उपलब्ध सबै उत्पादको साथमा सहभागिता जनाउनुपर्ने अनि सम्भावित आयातकर्ताहरूको पहिचान गर्न सहयोग गर्ने महावाणिज्यदूतले सुझाउ दिए। बायोफ्याचको अर्को संस्करणमा सहभागितालाई सक्षम बनाउन सबै प्रमाणीकरण अनुपालनहरू पनि त्यही समयमा गरिनुपर्ने थप सुझाउ दिए। महावाणिज्यदूत यादवले जर्मनहरू स्किङ्ग जस्ता साहसिक खेलहरू अनि ट्र्याकिङ, साइकलिङ जस्ता अन्य गतिविधिहरूमा गहिरो रुचि राख्छन् यसर्थ यसलाई सदुपयोग गरे ठूलो सम्भावना रहेको मन्त्री नेपाललाई अवगत गराए। वाणिज्य दूतावासले राज्यमा यी गतिविधिहरू विकास गर्नसक्ने कम्पनीहरू चिह्नित गर्न सहयोग पुऱ्याउने उनले वचन दिए। शिक्षा, कौशल विकास अनि लगानी अन्य सहकारी क्षेत्र बन्नसक्ने उनले विचार पोखे। जर्मनीमा शिक्षा नि:शुल्क छ र यस क्षेत्रमा ठूलो अवसर छ जसलाई उपयोग गर्न आवश्यक रहेको उनले मन्तव्य व्यक्त गरे। उनले यी विषयहरूबारे सिक्किम सरकार अनि जर्मनीका सम्बन्धित हितधारकहरूमाझ भर्चुअल बैठक आयोजन गर्न सकिने बताए। मन्त्री लोकनाथ नेपालले यस विषयबारे सम्बन्धित विभागसँग छलछल गर्ने विचार पोखे। सिक्किमबाट जैविक उत्पादहरूको व्यापार शुरु गर्न आवश्यक पहल गर्ने बताए।