इस्लामावाद: पाकिस्तानमा अब राष्ट्रपति चुनावको तयारी शुरु हुँदैछ। आम निर्वाचन सम्पन्न भइसकेकाले पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपति पदका लागि चुनावी कार्यतालिका जारी गर्ने तयारीमा जुटेको हो। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार १ मार्चमा राष्ट्रपति पदको चुनावी कार्यतालिका प्रकाशित हुने सम्भावना रहेको छ। पाकिस्तानको नयाँ राष्ट्रपतिमा आसिफ अली जरदारीको सम्भावना रहेको छ। उनी पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का नेता हुन्। ‘एक्सप्रेस ट्रिब्युन’को समाचारअनुसार राष्ट्रपतिको निर्वाचनको महत्वपूणर् पक्ष इलेक्टोरल कलेज २९ फरवरीमा सार्वजनिक हुनेछ। त्यसपछि निर्वाचन आयोगले १ मार्चमा राष्ट्रपति निर्वाचनको औपचारिक कार्यक्रम र सार्वजनिक सूचना जारी गर्नेछ।
२९ फरवरीसम्ममा चारवटै प्रदेश सभाहरू अस्तित्वमा आउने र त्यसपछि राष्ट्रपतिको निर्वाचनका लागि आवश्यक निर्वाचक मण्डल गठनको काम पूरा हुने निर्वाचन आयोगका प्रवक्तालाई उद्धृत गर्दै साम टीभीले जनाएको छ। पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) नेता शहबाज शरीफको नेतृत्वमा केन्द्रमा छ दलीय गठबन्धनले नयाँ गठबन्धन सरकार गठन गर्ने तयारी गरेको छ। पीएमएल-एनले पाकिस्तान पिपुल्स पार्टी (पीपी)का आसिफ अली जर्दारीलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ। जरदारी यसअघि सेप्टेम्बर २००८ देखि २०१३ सम्म पनि पाकिस्तानको राष्ट्रपति थिए। ८ फरवरीमा भएको निर्वाचनले त्रिशंकु परिणाम सार्वजनिक गरेको थियो। कुनै पनि दलले स्पष्ट बहुमत पाउन सकेनन्। त्यसपछि पीएमएल-एन र पीपीपीले गठबन्धन गर्ने निणर्य गरेका थिए। यो गठबन्धन पीपीपीका आसिफ अली जर्दारीले राष्ट्रपति पद पाउने शर्तमा बनेको हो। पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाजले पञ्जाब प्रान्तको मुख्यमन्त्रीको पद पाएकी छिन्। संविधानको धारा ४१ बमोजिम निर्वाचन सम्पन्न भएको ३० दिनभित्र राष्ट्रपतिको निर्वाचन हुनुपर्ने व्यवस्था छ। यसको अर्थ राष्ट्रपतिको निर्वाचन ९ मार्च अघि हुनेछ। डन अखबारको एक समाचारले यसअघि निर्वाचन आयोगले ९ मार्च वा १० मार्चमा राष्ट्रपतिको निर्वाचन गराउन तयार रहेको जनाएको थियो।