नयाँ दिल्ली: लामो समयसम्म हकी इण्डियाकी मुख्य कार्यकारी अधिकारी (सीईओ) रहने एलेना नर्मनले त्याग पत्र दिएकी छन्। यसको साथमा उनले लामो समयदेखि उनको पारिश्रमिक रोकिएको अनि महासंघमा आपसी गुटबाजीले गर्दा काम गर्नु मुश्किल भएको आरोप लगाएकी छन्। अष्ट्रेलियामा रहने नर्मनले लगभग १३ सालदेखि यस पदलाई सम्हालेकी थिइन् अनि हकी इण्डियाको सूत्र अनुसार, उनलाई गत तीन महिनादेखि पारिश्रमिकको भुक्तान गरिएको थिएन। नर्मनले पद छोड़ेको विषयमा हकी इण्डियाले कुनै कारण उल्लेख नगरी बयान जारी गरेपछि यस अष्ट्रेलियाईले भनिन्, (वेतनसँग सम्बन्धित) केही मुद्दा थियो तथा धेरै पहल गरिएपछि गत हप्ता त्यसलाई मञ्जुरी प्राप्त भयो। हकी इण्डियामा दुई गुट रहेको छ। एक तर्फ म र (अध्यक्ष) दिलीप तिर्की छौं भने अर्को तर्फ (सचिव) भोलानाथ सिंह, (कार्यकारी अध्यक्ष) कमाण्डर आरके श्रीवास्तव र (कोषाध्यक्ष) शेखर जे मनोहरन रहेका छन्। दुई गुटबीच आपसी लड़ाइँले गर्दा काम गर्न मुश्किल भइरहेको थियो।
नर्मनले पद छोड़्न केही दिन अघि मात्र भारतीय महिला हकी टीमकी मुख्य प्रशिक्षक यानेक शोपम्यानले पनि राजीनामा दिएकी थिइन्। शोपम्यानले आफ्नो बयानमा राष्ट्रिय महासंघले उनलाई महत्त्व नदिएको अनि उपयुक्त सम्मान नगरेको आरोप लगाएकी थिइन्। यसपाली नर्मनको त्यागपत्र राष्ट्रिय महासंघको निम्ति ठूलो धक्का हो। हकी इण्डियाका अध्यक्ष तथा पूर्व भारतीय कप्तान दिलीप तिर्कीले नर्मनको त्यागपत्र स्वीकार गर्दै उनी प्रति आभार व्यक्त गरेका छन्। हकी इण्डियाका अध्यक्षले भने, हकी इण्डियाका अध्यक्ष मात्र नभएर एकजना पूर्व खेलाड़ीको रूपमा पनि म गत १२-१३ सालदेखि उल्लेखनीय योगदानको निम्ति म उनलाई आभार व्यक्त गर्न चाहन्छु। उनका समर्पण र प्रयासहरूले हकी इण्डिया र भारतीय हकीलाई वर्तमान समयमा मजबूत स्थितिमा पुऱ्याउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्यो। म उनलाई भविष्यको निम्ति शुभकामना दिन्छु।
साल २०११-मा हकी इण्डियाकी पहिलो सीईओ बन्ने नर्मन शीर्ष पदमा रहँदा भारतको पुरुष र महिला हकी टीमले आफ्नो सर्वश्रेष्ठ ऱ्याङकिंग हासिल गऱ्यो। यसरी नै पुरुष टीमले टोक्यो ओलम्पिक खेलहरूमा काँस्य पदक जितेर ४१ सालदेखि जारी पदकको खड़ेरीलाई समाप्त गऱ्यो। यी खेलहरूमा महिला टीमले पनि ऐतिहासिक चौथो स्थान हासिल गरेको थियो।