रिनाक: रिनाक सरकारी निम्न माध्यमिक विद्यालय हिजो विद्यालय प्रबन्धन समिति (एसएमसी), अभिभावक-शिक्षक माझ प्रथम वार्षिक समन्वय सभा सम्पन्न भयो। उक्त सभा रिनाक-तारपिन क्षेत्रकी जिल्ला पञ्चायत सदस्य तथा एसएमसीकी अध्यक्षा बबिता गदाईलीको अध्यक्षतामा सम्पन्न भएको थियो।
विद्यालयका प्रधानाध्यापक टेकनाथ पौड्यालले आफ्नो मन्तव्यमा विगत वर्षमा विद्यालयमा भएका उपलब्धिमूलक कामहरू जस्तै विद्यालय परिसरमा टाइल्स बिछ्याइएको, मञ्च निर्माण, प्रधानाध्यापक कार्यालयसहित प्रत्येक कक्षामा विद्युत जड़ान आदि अन्यमाथि जानकारी दिए। आगामी दिनमा शिक्षकहरूको निम्ति शौचालय, विद्यालय परिसरमा सीसी क्यामेरा जडान गर्ने लगायत अन्य विषयमा अवगत गराए।
सभाकी अध्यक्षता बबिता गदाईलीले यस विद्यालयले प्रगति गरेर उदाहरण प्रस्तुत गर्नको साथै विद्यालयको निम्ति शौचालय निर्माणलाई प्राथमिकता दिने अनि शीघ्र एक सभागृह निर्माण हुने पनि संकेत दिइन्।