गान्तोक: सिक्किम सरकारले मङ्गलवार दक्षिण सिक्किमका दुईवटा स्थानमा जन भरोसा सम्मेलन आयोजन गरेर जनतालाई सहुलियत वितरण गरेको छ। हिजो पहिलो दिन सोरेङ र गेजिङ जिल्लाका मानिसहरूलाई सहुलियत वितरण गरिएको थियो भने आज नाम्ची जिल्लाका आठवटा निर्वाचन क्षेत्रका जनताले सहुलियत प्राप्त गरेका छन्।
जन भरोसा सम्मेलन सिक्किम सरकारको ग्राम विकास विभागले आयोजन गर्दै आएको छ। यसैअन्तर्गत मुख्यमन्त्री पीएस तामाङको उपस्थितिमा आज नाम्ची जिल्लाको तिमीतार्कु लामेटारमा आयोजित सम्मेलन अवधि बर्फुङ, राङ्गाङ-याङगाङ, तुमिन-लिङ्गी र तिमी-नाम्फिङ निर्वाचन क्षेत्रका जनतालाई सहुलियत वितरण गरियो। विभागले आज नै किताममा अर्को जन भरोसा सम्मेलन आयोजन गरेर मल्ली, पोकलोक-कामराङ, नाम्ची सिङ्गीथाङ र नामथाङ-रातेपानी निर्वाचन क्षेत्रका जनतालाई सहुलियत दिएको छ।
सिक्किम सरकारले जन भरोसा सम्मेलन मार्फत आवश्यकतामा परेका मानिसहरूलाई सरकारी सुविधा र सहुलियत वितरण गर्दै आएको छ। यसमा विशेष रुपले ग्रामीण तथा शहरी क्षेत्रमा निर्माण गरिने सिक्किम गरीब आवास योजनाको घर, सिक्किम आमा सशक्तिकरण योजान अन्तर्गत लाभार्थी महिलाहरूलाई वार्षिक ४०,००० रुपियाँको सहयोग राशि, घर भएर पनि मरम्मत गर्न नक्ने जनतालाई ५०,००० रुपियाँको आर्थिक सहयोग, घर छाउनका लागि ३० पाता जिसिआई सिट, विद्यार्थी भएका परिवारलाई इन्भर्टर सरकारले दिने मुख्य सहुलियत रहेका छन्।
यस बाहेक विभिन्न विभागबाट जनताले पाउने लाभ, विद्यार्थीहरूको लागि सहयोग, सामाजिक भत्ता, कृषि तथा पशुपालन विभागका सुविधा पनि जनताले जन भरोसा सम्मेलनबाट प्राप्त गरेका छन्। तिमीतार्कुको लामेटारमा आयोजित सम्मेलनमा मुख्यमन्त्रीले उपस्थित जनतालाई सहुलियत वितरण गरे। उनले उक्त सम्मेलनलाई सम्बेधन गर्दै जन भरोसा सम्मेलन जनताले सरकारलाई भरोसा गर्ने र सरकारले जनतालाई भरोसा गर्ने सम्मेलन रहेको बताए।