कोचबिहारः कोचबिहार विश्वविद्यालय बीटी एन्ड इभिनिङ कलेजका विद्यार्थीहरूले परीक्षामा उत्तीर्ण गरिदिने माग गर्दै सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। विद्यार्थीहरूले आज कोचबिहार शहरको गुन्जबारी इलाकामा कलेज गेटअघि सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। कोचबिहारको एकमात्र कलेज उत्तर बंगाल विश्वविद्यालयको अधीनमा रहेको छ। आरोप अनुसार यस वर्ष उक्त कलेजका १३५७ जना विद्यार्थीहरूले परीक्षा दिएका थिए भने तीमध्ये केवल ५६ जना विद्यार्थीहरू मात्र उत्तीर्ण भएका छन्। परीक्षामा राम्रै लेखे तापनि आफूहरूलाई फेल गरिदिएको तिनीहरूको आरोप रहेको छ। परीक्षाको पेपरहरू फेरि राम्रोसित जाँच गरेर आफूहरूलाई उचित नम्बर दिनुपर्ने माग गर्दै आज विद्यार्थीहरूले कोचबिहारको गुन्जबारी इलाकामा सडक अवरोध गरेर विरोध प्रदर्शन गरेको हो। यसले गर्दा कुचबिहार सहरमा जामको समस्या उत्पन्न भएपछि मानिसहरूले समस्या भोग्न परेको बताइएको छ।