सोरेङ: राज्य सरकारको महत्वकांक्षी योजना मेरो रुख मेरो सन्ततीसँग जोड़ेर मुख्यमन्त्री प्रेम सिंह तामाङले अझै एउटा विशेष योजनाको घोषणा गरेका छन्। आज पश्चिम सिक्किमको सोरेङमा राज्य सरकारको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिक्किम शिशु समृद्धि यजनाको घोषणा गरे। यस योजनाअन्तर्गत नवजात शिशुको नाम मेरो रुख मेरो सन्तती योजनाअन्तर्गत पञ्जीकरण भएपछि र उक्त शिशुका नाममा १०८ वटा विरुवा रोपिएपछि राज्य सरकारले शिशुको नाममा १८ वर्षको लागि १०,८०० रुपियाँको फिक्स्ड डिपोजिट गरिदिनेछ।
किसानहरूलाई आर्थिक सहयोग प्रदान गर्ने कृषि समृद्धि योजना जस्तै सिक्किम समृद्धि योजनाको घोषणा गर्दछु। यस योजनामा मेरो रुख मेरो सन्तती योजनाअन्तर्गत जुन दिन शिशुको नाममा १०८ वटा विरुवा रोपन गरिन्छ त्यसै दिन राज्य सरकारले उक्त शिशुको नाममा १०,८०० रुपियँ फिक्स्ड डिपोजिट गरिदिनेछ। यो पैसा उक्त शिशु १८ वर्ष भएपछि मात्र निकाल्न पाउनेछ, मुख्यमन्त्री तामाङले भने।
मुख्यमन्त्री तामाङकाअनुसार आगामी २९ फरवरीको दिन बस्ने मन्त्रीमण्डलको बैठकमा वन विभागमार्फत सिक्किम शिशु समृद्धी योजनालाई प्रस्तावको रुपमा अघि ल्याएर मञ्जुरी प्रदान गरिनेछ। उल्लेखनीय छ, राज्यको एसकेएम सरकारले वन-पर्यावरणको संरक्षणसँगै बाल-बालिका र पर्यावरणबीच सम्बन्ध बनाउने उद्देश्यले मेरो रुख मेरो सन्तती योजना लागु गरेको छ। यस योजनाअन्तर्गत प्रत्येक नवजात शिशुको नाम यस योजनामा पञ्जीकरण गरिएपछि वन विभागको सहयोगमा १०८ वटा विरुवा लगाइनेछ। सिक्किम सरकारको यस योजनालाई राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरमा पहिचान प्राप्त भएको छ।









