गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले सिक्किममा महिलाहरू र छोरी नानीहरू सुरक्षित नरहेको बताउॅंदै वर्तमान राज्य सरकारले उनीहरूको सशक्तिकरण र सुरक्षा सुनिश्चित गर्न कुनै कदम पनि नउठाएको आरोप लगाएको छ।
एसडीएफ नेतृद्वय जुडी राई र डा. वीणा बस्नेतले आज (सोमवार) इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालयमा आयोजित एक संवाददाता सम्मेलनमा उक्त आरोप लगाएका हुन्।
एसडीएफ नेतृ डा. वीणा बस्नेतले वर्तमानमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको सरकारले राज्यव्यापी रूपमा भरोसा कार्यक्रम आयोजना गरिरहेको बताउॅंदै सिक्किमका महिलाहरूको एसकेएम सरकारमाथि भरोसा उठिसकेको छ भनिन्। उनले राज्यमा महिलाहरू र छोरी नानीहरू विरूद्ध लगातार रूपमा हिंसा बढ़िरहेको छ भने राज्य सरकारले यसको रोकथाम गर्न कुनै पहल नगरेको आरोप लगाइन्। अर्कोतिर, महिलाहरू विरुद्ध हिंसामा संलग्न व्यक्तिहरूलाई उचित दण्ड दिन पनि सरकार चुकेको उनले आरोप लगाइन्।
उनले सिक्किममा महिलाहरूको यस्तो स्थिति पहिले कहिले पनि थिएन भन्दै अचानक यस्तो स्थिति कसरी सृजना भयो भन्दै प्रश्न गरेकी छन्। उनले यस्तो गम्भीर मुद्दामाथि विधानसभामा पनि कहिल्यै चर्चा नभएको बताइन्। उनले विगतका दिनहरूमा महिलाहरू विरूद्ध भएका घटनाहरूप्रति राज्य सरकारको उदासिन रवैयाका कारण आफुले राष्ट्रिय महिला आयोगको पुनः ध्यान आकर्षित गर्दै पत्रकार गरेको पनि जानकारी गराइन्।
यस अतिरिक्त डा. बस्नेतले एसकेएम पार्टीमाथि सरकार विरूद्ध आवाज उठाउने महिलाहरूलाई सामाजिक सञ्जालको माध्यमद्वारा बदनाम गर्न ठूलो रकम खर्च गरेर साइबर वरियरहरू नियुक्त गरेको पनि दाबी गरिन्। उनले अब एसडीएफ पार्टी पनि चुप लागेर बस्ने छैन भन्दै यस्ता कार्यहरूमा संलग्न व्यक्तिहरू विरूद्ध कानूनी कारबाही गर्ने चेताउनी दिइन्।
यसैगरी, एसडीएफ प्रचार प्रसार महासचिव जुडी राईले नारी सशक्तिकरणको निम्ति एसकेएम सरकारले कति काम गरेको छ भनी प्रश्न गरेकी छन्।









