गान्तोक: लाचेन मंगन निर्वाचन क्षेत्र अन्तर्गत टुङ नागा जीपीयूमा एसकेएम पार्टीको समन्वय सांगठनिक एवम जनसभा सम्पन्न भयो। उक्त कार्यक्रममा मुख्य अतिथिकोरूपमा मन्त्री सञ्जीत खरेल रहेका थिए भने विशिष्ठ अतिथिमा क्षेत्र विधायक एवम मन्त्री साम्दुप लेप्चा रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री सञ्जीत खरेलले वर्ष २०११ मा ठूलो भूकम्प आउँदा धेरै जना घरविहिन बने तर उनीहरू सबैले क्षतिपूर्ति नपाएको दावी गरे। त्यसबेला केवल एसडीएफ पार्टीका कार्यकर्ताहरूलाई मात्र सहयोग गरेको मन्त्रीले किटान गरे। यस क्षेत्रमा गत ४ अक्टोबरको दिन आएको विनाशकारी बाढले धेरै क्षति तुल्यायो तर मुख्यमन्त्रीको निर्देश बमोजिम शीघ्र सर्वे गरिएको र सर्वे पुरा भएपछि यसको क्षतिपूर्ति प्रदान गर्ने आश्वासन दिए। यहाँको जतिपनि सडक मार्गहरू सोचनीय अवस्थामा थियो तर एसकेएम पार्टी सरकारमा आउनसाथ निर्माण गरेको बताए। मंगन जिल्लामा विश्वविद्यालय ल्याउने पहल भइरहेको र यदि यहाँ विश्वविद्यालयको निर्माण भएपछि यहाँको विकास स्वतः हुने पनि सम्भावना व्यक्त गरे। पूर्व मुख्यमन्त्री चामलिङले नारीहरूलाई अवहेलना गरेको तर वर्तमान सरकारले नारीहरूलाई सम्मान दिएको अवगत गराए। चामलिङले वर्ष २०१४ तिर वितरण गरेको टोकन लिएर अहिले पनि राज्यका गरीबहरू केही पाउँछु भन्ने आशा लिएर सुतिरहेको जनाए। चामलिङले एक परिवार एक नौकरी दिँदा केवल ८९ दिनको मात्र उल्लेख गरेको थियो। सोही प्रकारले एड्हक शिक्षकहरूले प्रत्येक वर्ष नविकरण गर्नुपर्थ्यो तर एसकेएम पार्टी सरकारमा आउनसाथ अस्थायी शिक्षकहरूको निम्ति कानून बनाएर आठ वर्षमा स्थायीकरण गर्ने नीति तय गऱ्यो। यति मात्र नभएर चार वर्षमा नै स्थायीकरण गर्ने कानुन बनाइसकेको र मेमोरेन्डम तयार भइरहेको बताए। मंगन जिल्लाका मानिसहरूले पीएस गोले र एसकेएम पार्टीलाई मन पराईसकेको हुनाले आगामी चुनाउमा उत्तर जिल्लाबाट तीनवटा निर्वाचन क्षेत्र नै एसकेएम पार्टीले जित्ने ठोकुवा गरे। आगामी चुनाउमा मैले टिकट नपाएपनि मुख्यमन्त्रीको साथमा रहने बचन दिए। आफू एसकेएम पार्टीको वफादार सिपाही रहेको पनि बताए। उनले पार्टीका कार्यकर्ताहरूबीच ग्रुपिज्म नगर्ने पनि आग्रह गरे। एसकेएम पार्टीलाई २५ वर्षसम्म शासन गर्ने अवसर दिएमा जनता नेताकोमा होइन, नेता जनताको घरघरमा पुग्ने वातावरण सृजना गर्ने दावी गरे।









