सिलगढी: आशा पारा मेडिकल एण्ड नर्सिङ इन्स्टिट्युट र आनन्द मार्ग यूनिभर्सल रिलिफ टीमको संयुक्त आयोजनामा आज यहाँको शिवखोला परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरियो। लामो समयदेखि चिया बगानलगायत ग्रामीण क्षेत्रहरूमा पुगेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आउने आशा पारा मेडिकलले शिव खोलामा सो शिविर गरेको हो। जहाँ सय अधिक स्थानीय मानिसहरूको उपस्थिति रहेको थियो। यहाँको सालबारीमा आशा पारा मेडिकलले आफ्नै नर्सिङ इन्स्टिट्यूट पनि संचालन गर्दै आइरहेको छ, भने सोही केन्द्रबाट गएको टोलीले स्वास्थ्य शिविरको आयोजना गर्दै निःशुल्क औषधि पनि वितरण गरेको छ। आशा नर्सिङ इन्स्टिट्यूटका निर्देशक सुरेन्द्र गिरीले जानकारी गराएअनुसार, आफूहरूले धेरैवटा ठाउँमा पुगेर उक्त किसिमको शिविर आयोजना गर्दै आइरहेको छ। समान्य मानिसहरूलाई स्वास्थ्यबारे जागरूक गराउन र उनीहरूको सुविधाको निम्ति औषधि दिनु नै आफूहरूको उद्देश्य रहेको पनि उनले बताए। शिविरमा उपस्थित सदस्यहरूलाई ब्ल्याङकेट लगायत अन्य कपडा पनि वितरण गरिएको तिनले बताए।