खरसाङ: आगामी लोकसभा चुनावलाई लिएर तयारी विषयमा सोधिएको प्रश्नको उत्तर दिन्दै भागोप्रमो अध्यक्ष अनित थापाले राजनैतिक दल हौं र चुनावको तयारी चल्दैछ भनी बताएका छन्। उनले तृणमूल अनि काँग्रेसको चुनावी गठबन्धन अनि यसको प्रभाव विषयमा सोधिएको प्रश्नको उत्तरमा भने, त्यो माथिल्लो तहको राजनीति हो। हामी क्षेत्रीय दल हौं। हामी क्षेत्रीय राजनीतिमा नै विश्वास गर्छौं। हाम्रो क्षेत्रीय राजनीति अनुसार हाम्रो गठबन्धन तृणमूल काँग्रेससँग छ। माथिल्लो तहको राजनीतिमा चलिरहेको गठबन्धन विषय मैले बोल्नु अनि टिप्पणी गर्नु ठीक होइन। मेरो त्यो तहमा कुनै सम्बन्ध पनि छैन।’
लोकसभा चुनावमा प्रार्थी विषयमा सोधिएको प्रश्नको उत्तरमा अनित थापाले भने, हाम्रो गठबन्धन तृणमूलसँग छ। त्यो गठबन्धनको हाम्रो प्रार्थी निश्चित छ। काँग्रेस अनि बीजेपीसँग मेरो कुनै गठबन्धन छैन। उनीहरूको विषयमा मैले बोल्नु मेरो अधिकारमा छैन।”
भागोप्रमोले गरिरहेको मिशन जागरण कार्यक्रम विषयमा बोल्दै थापाले भने, मिसन जागरण ग्राम पञ्चायत स्तरमा भईरहेको छ। अब हामी बुथ स्तरमा मिसन जागरण लिएर जानेछौँ।जनतालाई जागृत गराउनुपर्छ। हामी पन्ध्र वर्ष झुक्कियौं। पन्ध्र वर्षसम्म पहाडमा अशान्ति मात्र भईरह्यो। बीजेपीले पन्ध्र वर्षमा पहाडमा अशान्ति मात्र ल्यायो। दिन्छु भन्यो, अशान्ति ल्यायो। अहिले पहाडमा मानिस शान्तिसँग बसिरहेको छ। हामीले दिएको प्राय: वचन पूरा भएको छ। हामी कहाँ झुक्कियौ, कसरी झुक्कियौं, त्यही विषय मानिसमा जनचेतना ल्याउनु नै मिसन जागरणको पहल गरिएको हो।”
मिशन जागरण विषयमा अझ भने, ‘मिसन जागरण कसैको विरुद्ध आन्दोलन नभएर मानिसलाई जागरुक बनाउने अभियान हो। हामी धेरै झुक्कियौं, अब झुक्किनु हुँदैन भन्ने सन्देश दिने मिसन हो। झुटो वाचामाथि हामी धेरै झुक्कियौँ।”
खरसाङको दुधेमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो अध्यक्ष अनित थापाले भने, पहाडमा शान्ति छ त्यसैले निवेशकर्ता पहाडमा निवेश गर्नु आउँदैछन्। पहाडमा अशान्ति भएको भए दूधे जस्तो ठाउँमा १०० कोठाको होटल बनिने थिएन। निवेशकले हिम्मत गरेर नै लगानी गर्दैछन्। यस्तो प्रोजेक्ट यहाँ आउनु थाले रोजगार बढ्छ, स्थानीय व्यापार बढ्छ। पहाडमा लगानी कर्ताहरूले अझ धेरै लगानी गर्नेछन्।”
भाजपालाई हराउनु कति गार्हो छ भन्ने प्रश्नको उत्तरमा अनित थापाले भने, हराउने जिताउने जनता हुन्। हाम्रो काम जनतालाई जागरुक गराउने हो। विगतको पञ्चायत चुनावमा भाजपाले पहाडको डल्लै पार्टीहरुलाई एकजुट गराएर हाम्रो विरुद्ध चुनावमा खडा भए। तर हामीले चुनाव जित्यौं। अधिकांश पञ्चायतमा हाम्रो बोर्ड छ। यसको अर्थ हो मानिसहरू जागरुक भएका छ्न्। हामीलाई झुक्याएको रहेछ। हामी ठगिएको रहेछौं भन्ने जनताले बुझे। भाजपासँग गठबन्धन गर्ने पार्टीहरू चुनावमा हारे। भाजपाले उनीहरूको अस्तित्व नै संकटमा पारे। तृणमूलले त हामीलाई विधानसभा, पञ्चायत, जीटीएमा खुल्ला छोडिदिएको छ। भाजपा त हाम्रो भडार कोठामा नै पस्नु खोज्दैछ। यस्तै हो भने भाजपाले एकदिन गोर्खाको अस्तित्व, राजपाट अनि क्षेत्रीय राजनीति नै मासी दिनेछ।’










