राँची: भारतले कप्तान रोहित शर्मा (५५) र शुभमन गिल (अविजित ५२)-को अर्द्धशतकीय ईनिंग्सको सहायताले भारतले केही तनाउपूर्ण क्षणहरूको सामना गर्दै चौथो क्रिकेट टेस्ट म्याचमा ईंग्ल्याण्डलाई चौथो दिन नै ५ विकेटले पराजित गरी पाँचवटा टेस्ट म्याचको सीरीजमा ३-१-को अजेय बढ़त हासिल गऱ्यो। जीतको निम्ति १९२ रनको लक्ष्यलाई भारतले लञ्च ब्रेकपछि ५ विकेट गुमाएर हासिल गऱ्यो। कप्तान रोहित र यशस्वी जयसवालबीच पहिलो विकेटको निम्ति भएको ८४ रनको पार्टनरशीपको सहायताले भारत एक समय त सजिलै विजयी हुने लागिरहेको थियो तर केवल ३६ रनमा ५ विकेटको पतन हुँदा भारत समस्यामा परेको थियो। यस्तो दबाउको परिस्थितिमा गिलले आफ्नो दोस्रो टेस्ट म्याच खेलिरहेका ध्रुव जुरेलसँग छैटौं विकेटको निम्ति ७२ रनको अटूट पार्टनरशीप गरी भारतलाई जीत दिलाए। जुरेलले टीमलाई बचाउने क्रममा अविजित ३९ रन बनाएर आफ्नो क्षमता देखाए। ईंग्ल्याण्डका कप्तान बेन स्टोक्सले आज शुरुदेखि नै आफ्ना स्पिनरहरूमाथि भरोसा देखाए अनि शोएब बशीर र टम हार्टलेले पनि कसिलो बलिंग गरेर निरन्तर दबाउ बनाए। चरम दबाउबीच पनि अन्तमा गिल र जुरेलले मिलेर भारतलाई जीत दिलाए।
सोमवार म्याचको चौथो दिन भारतले तेस्रो दिनको स्कोर कुनै विकेट नगुमाइ ४० रनदेखि अघि खेल्न शुरु गऱ्यो। बिहानको सत्रमा रोहित र जयसवाल दुवैलाई सहज देखियो अनि यी दुईले पहिलो विकेटको निम्ति ८४ रन योग गरे। यसबीच जो रुटको बलिंगमा आक्रामक शट् खेल्ने प्रयासमा जयसवाल ३७ रन बनाएर आउट भए। त्यसपछि चाहिँ भारतले विकेट गुमाउने क्रम शुरु गऱ्यो। अर्द्धशतक पूरा गरेपछि रोहित पनि हार्टलेको बलिंगमा स्टम्प्ड भए। रोहितले ८१ बल खेलेर ५ वटा चौका र एउटा छक्का लगाए। रोहितको पतनपछि गिलले एक प्रान्तमा लड़ाइँ जारी राखे पनि अर्को प्रान्तमा रजत पाटीदार, रविन्द्र जडेजा र सरफराज खान निरन्तर अन्तरालमा आउट भए। यसमा पाटीदार र सरफराजले त खाता पनि खोलेनन् जबकि जडेजाले ४ रन बनाए। यसरी एक समय स्कोर ५ विकेटमा १२० रन रहेको थियो। त्यहाँदेखि गिलले जुरेलसँग मिलेर उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई जीत दिलाए। म्याचमा ईंग्ल्याण्डले आफ्नो पहिलो ईनिंग्समा ३५३ रन बनाएको थियो जबकि भारतको पहिलो ईनिंग्स ३०७ रनमा समाप्त भएको थियो। त्यसपछि ईंग्ल्याण्डको दोस्रो ईनिंग्स केवल १४५ रनमा समाप्त हुँदा भारतलाई १९२ रनको लक्ष्य प्राप्त भएको थियो। म्याचको पहिलो ईनिंग्समा ९० र दोस्रो ईनिंग्समा अविजित ३९ रन बनाउने जुरेललाई प्लेयर अव् द म्याच चयन गरियो।